वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिका क्षेत्रमा जारी गरेको कर्फ्यु हटाएको छ। हनुमान जयन्तीका अवसरमा दुई समुदायबीच झडपको स्थिति बनेपछि पर्सा प्रशासनले गत शनिबार साँझदेखि हिजो आइतबार राति १२ बजेसम्म सो क्षेत्रमा कर्फ्यु लगाएको थियो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सर्वपक्षीय बैठकमा भएको निर्णयका आधारमा उक्त कर्फ्यु हटाइएको जानकारी दिएका छन्। कर्फ्यु हटाइए पनि परिस्थिति पूर्ण रूपमा सामान्य नभइसकेकाले केही क्षेत्रमा निषेधाज्ञाको आदेश जारी राखिएको छ।
२०८२ वैशाख १ गतेदेखि अर्को आदेश नभएसम्मका लागि पूर्वमा बाईपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटसम्म निषेधाज्ञा लगाइएको हो।
यी स्थानमा कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको छ। उक्त आदेशको उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ।