काठमाडौं । झन्डै तीन सातायता उच्च रहेको काठमाडौं उपत्यकाको वायु प्रदूषण बिहीबार (चैत २८) देखि केही कम भएको छ । तर, अझै स्वस्थकर भइसकेको छैन ।
शुक्रबार (चैत २९) बिहान ११ः१५ बजे उपत्यकाका तीन स्थानको वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ छ । ती स्थानको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) १०० देखि १२० सम्म छ ।
उक्त समयमा ललितपुरका खुमलटार र भैँसेपाटी र काठमाडौंको शंखपार्क विशेष वर्गका निम्ति अस्वस्थकर छन् ।
यी बाहेक अरू स्थानको (एक्यूआई) १०० कम छ । उपत्यकाका विभिन्न स्थानको एक्यूआई बुधबार (चैत २७) दिउँसोसम्म अधिकतम १५० देखि १८० सम्म थियो ।
एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्यो भन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ ।