वीरगन्ज । वीरगन्ज युवा विकास संघर्ष समितिको बैठक सम्पन्न भएको छ । समितिका अध्यक्ष अकलेश साहको अध्यक्षतामा आईतबार सम्पन्न बैठकले वीरगन्जको सडक विस्तारको विषयमा पछिल्लो पटक नेता मन्त्रीहरुले दिएको अभिव्यक्तिको कडा विरोध गर्ने निर्णय गरेको छ ।
बैठकले विकास विरोधी नेता र मन्त्रीहरुलाई कालो झण्डा देखाउने निर्णय गरेको समितिका संदीपविक्रम साहले जानकारी दिए । संघर्ष समितिले वीरगन्जको मुख्य सडक विस्तारका लागि निरन्तर विरोध गर्दै आएका थिए ।
उक्त विषय अदालतमा पुगेपछि उनीहरुले आन्दोलनलाई विराम गरेका थिए । सर्वोच्च अदालतले सडक विस्तारको विरोधमा परेको सबै रिट खारेज गरेपछि अहिले सडक विस्तारसम्बन्धी विषयमा राजनीतिक दलका नेता तथा मन्त्रीहरुले विस्तर हुनुहुदैन भन्ने अभिव्यक्ति दिएपछि त्यसको आलोचना हुन थालेको छ ।
सरकारको मन्त्रीले नै वीरगन्जको विस्तार हुन आवश्यक छैन भनेर दिएको अभिव्यक्तिले वीरगन्ज युवा विकास संघर्ष समितिलाई फेरी आन्दोलन गर्न बाध्य बनाएको समितिका अकलेस साहले बताए । बैठकमा अकलेस साह, सन्दिप साह, राकेश पटेल, रन्जित चौरसिया, सत्यम साह, सन्जय यादव लगायतको उपस्थिति रहेको थियो ।