वीरगन्ज । वीरगंज उद्योग वाणिज्य संघको नयाँ नेतृत्व निर्विरोध चयन भएको छ । यसअघिका बरिष्ठ उपाध्यक्ष हरि गौतमको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन भएको हो । आईतबार सम्पन्न पदाधिकारीको निर्वाचनमा गौतम नेतृत्व सर्वसम्मत चयन भएको हो ।
कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा माधव राजपाल, द्वितीय उपाध्यक्षमा मनोज दास, महासचिवमा शिबजी प्रसाद कलवार, कोषाध्यक्षमा अनोज रुंगटा, सचिवमा प्रेमचन्द्र गोयल, सुशान्त चाचान, सह–कोषाध्यक्षमा निरज अग्रवाल, सहसचिवमा नरेश टिवडेवाल निर्विरोध चयन भएको छ ।
एउटा सहसचिव मतदान प्रकृयामा जानु परेको थियो । सहसचिवमा अनुप अग्रवाल र प्रभात रुंगटा गरी दुईजनाको उम्मेदवारी परेपछि मतदानबाट टुंगो लगाईएको प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले बताए । उनका अनुसार सहसचिवमा अनुप अग्रवाल तीन मतले विजयी भएका छन् । उनले १९ मत ल्याए । रुंगटाले १६ मत पाएका थिए ।
नवनिर्वाचित अध्यक्ष गौतमले आफुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपले निर्वाचित गराउने सम्पूर्ण पदाधिकारी तथा कार्यसमितीलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो नेतृत्वकालमा सबैलाई मिलाएर जाने प्रतिबद्धता ब्यक्त गरे । उनले उद्योगी व्यावसायीहरुको हक हितका मुद्दा आफूले खरो ढंगले उठाउने र समाधानका लागि दबाव सृजना गर्ने बताए ।
संघको विद्यान अनुसार १२ जना पदाधिकारी रहने व्यवस्था रहेको । निवर्तमान अध्यक्ष स्वतः पदाधिकारीमा आउने पनि विद्यानमा व्यवस्था छ । त्यस्तै तृतीय उपाध्यक्ष अर्थात रोजगारदाता समितिको संयोजकको मनोनयन नयाँ कार्यसमितिको पहिलो बैठकले गर्ने व्यवस्था रहेको छ ।
वीरगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा सहमतिमै चयन गर्ने अभ्यास हुदै आएको छ । केही पदमा सहमति हुन नसकेमा मतदानबाट टुंगो लगाउदै आएको छ ।