वीरगन्ज । वीरगन्जको मुख्य सडक विस्तार सम्बन्धी मुद्दा सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
मुख्य सडकको २५–२५ मिटर नतोड्न माग गर्दै विपक्षीहरूले दायर रिट सर्वोच्च अदालतले बुधबार खारेज गरिदिएको हो । सर्वोच्च अदालतलका न्यायधीश विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले रिट खारेज गर्ने आदेश दिएको हो ।
सडक विस्तार रोक्न लक्ष्मण सा रौनियार, विरेन्द्र कुमार संघई, राजकुमारी देवी तुल्स्यान, भरत प्रसाद रौनियार र सुधिर कुमार वर्णवालले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय लगायत विभिन्न सरकारी निकायलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।
उनीहरुले उत्प्रेषणको परमादेशको माग सहित दायर गरेको सबै रिट सर्वोच्चले खारेज गरेको छ । यो सँगै अब मुख्य सडकले निकास पाएको छ । आदेशको पूर्णपाठ भने आउन बाँकी छ ।
सर्वोच्च अदालतले रिट खारेज गरेपछि सामाजिक सञ्जालमा लेख्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले खुशी व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बीरगंजबासी का लागि खुशीको खबर मेनरोड सम्बन्धमा सम्मानित सर्वोच्च अदालतले रिट खारेज गरि दिएको छ । सर्वोच्चको पूर्ण पाठको प्रतीक्षामा महानगर ।’