वीरगन्ज । वीरगन्ज एकीकृत भन्सार जाँच चौकी (आईसीपी) भित्रै सवारी साधानका सामानहरु चोरी भएको छ ।
सीसीटीभी क्यामेरा र सुरक्षा गार्ड सहितको कडा सुरक्षा घेराभित्र रहने एकीकृत भन्सार जाँचचौकी (आईसीपी) भित्रैबाट जलविद्युत आयोजनाको समान लोड गरि राखिएको मधेस प्रदेश ०३००१ ख ८९२३ नम्बरको १० चक्के ट्रकको दुईवटा ब्याट्री र डिजल चोरी भएको सवारी धनी जगरनाथ प्रसाद कलवारले बताए ।
उनका अनुसार पार्किङ्गक्षेत्रमा चार महिनादेखि पार्क गरेर राखिएको ट्रकमा रहेको दुईसय ५० लिटर डिजेल र दुईवटा ब्याट्री चोरी भएको हो । दुईवटा ब्याट्री र दुईसय पचार लिटर डिजलको ७५ हजार रुपैंया जतिको नोक्सानी भएको उनले बताए ।
आईसीपी भन्सारको व्यावस्थापनका जिम्मा पाएको हिमालयन लजिष्टिक प्रालिले १० चक्के सवारी साधनसँग दैनिक मूल्य अभिवृद्धि सहित झण्डै नौसय रुपैंया शुल्क लिने गरेको भन्दै यसरी हिसाब गर्दा ७८ हजार रुपैंया व्यावस्थापनलाई शुल्क तिरेको उनको भनाई छ ।
चोरी भएपछि सवारी धनी र सवारी चालकहरुले असुरक्षित महशुस गरेका छन् । कलवार भन्छन्, ‘सवारी साधनबाट हराएको सामानको भन्दा बढी रकम शुल्क तिरेका छौं । तर, सुरक्षा भएन । यस्तो संवेदनशील ठाउँमा यस्तो लापरवाही भएको छ ।’
वीरगन्ज भन्सार एकीकृत जाँच चौकी (आईसीपी) मा सम्बन्धित व्यक्तिहरु बाहेक अन्य व्यक्तिहरुको पहुँच नपुग्ने ठाउँमै सवारी साधनका ब्याट्री लगायतका सामानहरु चोरी भएपछि सवारी चालक र सवारी धनीहरुले चिन्ता व्यक्त गर्दै व्यावस्थापनमाथि आक्रोस समेत व्यक्त गरेका छन् ।
नेपाल लोकतान्त्रिक यातायात व्यावसायी संगठनका केन्द्रीय उपाध्यक्ष समेत रहेका कलवारले आईसीपी व्यावस्थापनले गाडी पार्किङ शुल्क लिएर सुरक्षामा लापरवाही गरेको बताउदै सवारी साधन पार्किङ्ग गर्ने ठाउँमा सीसीटीभी क्यामेरा समेत नभएको उनले बताएका छन् ।
आईसीपी व्यावस्थापनको जिम्मा पाएको हिमालयन लजिष्टिक प्रालिका आईसीपी प्रमुख गणेश घिमिरेले भने अहिलेसम्म त्यस्तो घटना नभएको बताए ।
उनले भने, अहिलेसम्म त्यस्तो घटना भएको थिएन । त्यहाँ सुरक्षा गार्डहरु पनि तैनाथ रहन्छन् । सुरक्षा कमजोरीले सामान हराएको भए सुरक्षा गार्डहरुबाटै पनि तिराईएका छौं । यो विषयमा म बुझेर सममस्या समाधान गर्छु ।”
उनका अनुसार आईसीपी भन्सारको सुरक्षाका लागि विराट सेक्युरिटी कम्पनीबाट सुरक्षा गार्डहरु राखिएको छ ।