वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले दुईपाङ्ग्रे सवारी साधन मोटर साईकलको स्वामित्व हकदावीको लागि सूचना प्रकाशित गरेको छ ।
पर्सा प्रहरीले विभिन्न समयमा गरेको सवारी चेकिङगका क्रममा समातिएका तथा वेवारिसे अवस्थामा फेला पारेर जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएका मोटरसाईकलको स्वामित्व सम्बन्धी कुनै कागजपत्र नभेटिएका पुराना विभिन्न प्रकारका मोटर साईकलहरुको हालसम्म कोही पनि हकदाबी गर्न नआएकोले सूचना जारी गरेको हो ।
सरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम बिक्री सम्बन्धी कार्यविधि, २०७९ को परिच्छेद ३ को दफा २० को उपदफा १ बमोजिम कोही कसैको हकदावी पुग्ने भए त्यसको सक्कलै कागजात सहित जिल्ला प्रहरी कार्यालयको प्रबन्ध शाखामा सम्पर्क गरी बुझेर लैजान १५ दिनको सूचना प्रकाशित गरिएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।
उनका अनुसार १११ वटा मोटरसाईकलको हकदावी गर्न आउन सूचनामा भनिएको छ । तोकिएको समय सीमाभित्र हकदाबी गर्न नआएमा सरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम बिक्री सम्बन्धी कार्यविधि, २०७९ को परिच्छेद ३ को दफा २० को उपदफा १ र २ मा व्यवस्था भए बमोजिम आवश्यक कारवाही हुने प्रहरी उपरीक्षक मिश्रले बताए ।
मोटर साईकलहरुको विवरण जिल्ला प्रशासन कार्यालय पर्सा कोष तथा लेखा नियन्त्रक कार्यालय पर्सा, यातयात व्यवस्था कार्यालय नारायणी वीरगञ्ज, भूमि सुधार तथा मालपोत कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालयको सूचना पाटीमा समेत टाँस गरिएको जनाएको छ । साथै जिल्ला प्रहरी कार्यालय पर्साको फेसबुक पेजमा समेत राखिएको हुँदा लिंक खोलेर हेर्न समेत अनुरोध गरिएको छ ।