वीरगंज। नेकपा एमालेका केन्द्रीय सदस्य एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो पार्टीले देशको विकास र समृद्धिको नेतृत्व विगतमा गरेको र भविष्यमा पनि गर्ने स्पष्ट पारेका छन् ।
नेकपा एमाले बिन्दबासिनी गाउँपालिकाको कमिटीले आज सोमबार बिन्दबासिनीको बहुवर्वाभाठ्ठामा आयोजना गरेको दोश्रो गाउँपालिका अधिवेशनमा मन्त्री गुप्ताले नेकपा एमालेले सरकारको नेतृत्व गर्दा विकासका धेरै काम भएको दावी गरेका हुन्।
वि.सं. २०५१ मा वि.सं. २०७२ को राजनीतिक परिवर्तन पछि सरकारको नेतृत्व गर्दा एमालेले विकासका काम गरेर नागरिकको मन जितेको उनले बताए । अहिले पनि तीनै तहमा एमाले नेतृत्व आएमा नागरिकको समृद्धिको आकाङ्क्षा पूरा हुनसक्छ उनको भनाई थियो ।
एमालेले समाजमा सहयोग आवश्यक पर्ने वर्गलाई विशेष सम्मान र आरक्षण गर्दै आएको मन्त्री गुप्ताले बताए । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता एमाले नेतृत्वको सरकारले ल्याएको र समयानुसार बढाएको साथै जनता आवास कार्यक्रम र प्रत्येक गाउँलाई शहरसंग जोड्ने योजना अन्तर्गत हुलाकी राजमार्ग योजना समेत नेकपा एमालेले ल्याएको उनले बताए ।
नेपाली कांग्रेस र नेकपा एमालेले नेतृत्व गरेको सरकारमा आफूले पाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै देशकै प्रमुख समस्याको रूपमा खडा भएको संघीय निजामती ऐनको विवाद पटक पटक वार्ता र छलफल गर्दै अन्तिम चरणसम्म पुर्याएको बताए साथै केही दिन भित्रै संघीय निजामती ऐन पारित गरी राष्ट्र सेवक कर्मचारीहरुमा खुस्याली दिने उनले बताए ।