वीरगन्ज । मुगुको रारा तालको किनारमा सञ्चालित होटलमा आगलागी हुँदा २ करोड भन्दा बढीको क्षति भएको छ । होटल सञ्चालन गरिएको पाँचवटा भवन आगलागीबाट जलेर नष्ट भएको छ ।
आगोले काठै काठको संरचनाले बनेका र टिनले छाएको भवनमा क्षति पु-याएको हो । जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी प्रहरी निरीक्षक अच्युतराज आचार्यका अनुसार टिनले छाएको चारवटा काठैकाठको घरको ६० लाख, ती घरमा राखिएको पेय पदार्थ १० लाख, लत्ताकपडा ३० लाख, सुनको ४२ लाख ७५ हजार, फर्निचर २० लाख, भाडावर्तन १० लाख खाद्यान्न पाँच लाख, नगद ३ लाख ५० हजार, टेण्ट २ लाख गरी २ करोड ३ लाख २५ हजार मूल्य बराबरको जलेर नष्ट भएको छ ।
आगोमा जलेर होटलका मालिक गोपाल बम र कुक जगत थापा मगर पनि घाईते भएको र उनीहरुको अवस्था सामान्य नै रहेको प्रहरी निरीक्षक आचार्यको भनाई छ । आगोमा जलेर होटलका तीनवटा कुकुर पनि मरेको छ ।
आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरी टोली रारा पुगेको थियो । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो निभाएका थिए ।