वीरगञ्ज । प्याब्सन पर्साले आयोजना गरेको नेपाल मेडिसिटी ईन्टर स्कुल नकआउट क्रिकेट प्रतियोगिताको उपाधी मुनलाईट स्कुलले उचालेको छ ।
बुधवार नारायणी क्रिकेट मैदानमा भएको फाइनल खेलमा विद्यासागर स्कुललाई १७ रनले पराजित गर्दै मुनलाईटले उपाधि उचालेको हो ।
टस जितेर पहिला ब्याटिङ्ग गरेको मुनलाईट स्कुलले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनको योगफल बनाएको थियो । जसका लागि सेराज हवारी एक रनले अर्धशतक बनाउनबाट चुके । उनले ३२ बलमा ४९ रन बनाए ।
११४ रनको लक्ष्यसहित मैदान उत्रिएको विद्या सागर निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९६ रनमै समेटियो ।
प्रतियोगिताको प्लेयर अफ दी म्याच सेराज हवारी भए । सेराज प्रतियोगिता भरीकै उत्कृष्ट खेलाडी पनि भए । प्रतियोगिताकै उत्कृष्ट ब्याटरको उपाधि पनि उनले नै लगे ।
यति मात्रै नभएर उत्कृष्ट बलरको उपाधि पनि सेराज हवारीकै नाममा रह्यो । उत्कृष्ट फिल्डर दिलरन्जन यादव भए भने उत्कृष्ट विकेट किपर अनुप कुवर भए । विद्यासागरका जुनैद आलम ईमर्जिङ् प्लेयर घोषित भए ।
प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीको अध्यक्षतामा भएको समापन समारोहका अवसरमा विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
प्रथम हुने मुनलाईटले १५ हजार नगदसहित शिल्ड, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको विद्यासागरले १० हजार नगद र तृतिय भएको साउथ जोन स्कुलले ५ हजारसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
यसबाहेक विधागत रुपमा उत्कृष्ट खेलाडीलाई पनि नगदसहित कप, मेडल र प्रमाण पत्र प्रदान गरिएको प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले जानकारी दिए ।
प्रतिनीधि सभा सदस्य एवम् पूर्व वन तथा वातावरण मन्त्री बिरेन्द्र प्रसाद महतो, मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा। दिपक शाक्य, मधेश प्रदेशका नीति तथा योजना आयोगका सदस्य डा। हरिशंकर साह, जिल्ला शिक्षा समन्वय ईकाई पर्साका प्रमुख मोतिप्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायतको उपस्थिती रहेको थियो ।