वीरगञ्ज । प्याब्सन पर्साले आयोजना गरेको अन्तर विद्यालय स्तरीय टि ट्वाइन्टी नकआउट क्रिकेट प्रतियोगितामा आज सेन्जेभियर्स स्कुल विजयी भएको छ । आज भएको पहिलो खेलमा आदर्श स्कुललाई ९ रनको झिनो अन्तरले पराजित गर्दै सेन्जेभियर्स स्कुल विजयी भएको हो ।
टस जितेर ब्याटिंग गरेको सेन्जेभियर्स स्कुलले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै १०२ रनको योगफल तयार पारेको थियो । सेन्जेभियर्सका लागि दिपेश साहले ५५ रनको अर्धशतीय पारी खेले । १०३ रनको लक्ष्य पछ्याएको आदर्श स्कुल निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर ९३ रनमै समेटियो ।
प्रतियोगितामा सेन्जेभियर्सका दिपेश साह प्लेयर अफ दी म्याच घोषित भएको प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले जानकारी दिए । प्लेयर अफ दी म्याच भएका दिपेशलाई नगद एक हजार रुपैयाँ र मायाको चिनोसहित प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी लगायतले पुरस्कृत गरेका थिए ।
यसैबीच आजै भएको जुनियर फुटबल प्रतियोगिताको पहिलो खेलमा नवदिप एकेडेमी विजयी भएको छ । ३०–३० मिनेट गरी एक घण्टाको खेलमा दुवै समूहबाट गोल नभएपछि खेल ट्राइब्रेकरमा लम्बिएको थियो । ट्राईब्रेकरमा ४–३ गोलले नवदीप एकेडेमी विजयी भएको छ ।
यस खेलमा नवदिप एकेडेमीका गोलकिपर राज चौधरी प्लेयर अफ दी म्याच घोषित भएका छन् । उनलाई प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीसँगै मधेश प्रदेश नीति तथा योजना आयोगका सदस्य डा। हरिशंकर साह, प्याब्सनका केन्द्रिय सदस्य छेदुप लामा, पूर्व केन्द्रिय सदस्य प्रकाश उपाध्याय लगायतले पुरस्कृत गरेका हुन् ।