वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले दुईदिनमा १८ जना फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ ।
पर्सा जिल्ला अदालतबाट विभिन्न मिति र समयमा भएको फैसला कार्यान्वयन गर्ने सिलसिलामा जिल्ला प्रहरी कार्यालय पर्साले आईतबार र सोमबार गरी दुईदिनमा १८ जना फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालतमा दाखिला गरेको हो ।
प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको कैद असुल तथा फैसला कार्यान्वयन बिशेष टोलीले विभिन्न मुद्दामा जरिवाना तोकिएका १८ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी पर्सा जिल्ला अदालतमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
यस्तै विभिन्न स्थानहरुबाट भन्सार छलिका सामान समेत बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र मातहत समेतका प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारीका विभिन्न ईलेक्ट्रोनिक्स सामानहरू विभिन्न स्थानहरूबाट बरामद गरेको छ ।
प्रहरीले ७१ हजार चारसय रुपैंया बराबरको भन्सार छलीको सामान बरामद गरेको प्रहरी नायव उपरीक्षक लम्सालले बताए ।