वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वीरगन्जको हरेक ऐतिहासिक तथा धार्मिक स्थलहरुको बारेमा वीरगन्जका सबै सामुदायिक र संस्थागत विद्यालयहरुले विद्यार्थीलाई जानकारी गराउन आग्रह गरेका छन् ।
साउथजोन माध्यामिक विद्यालयले विद्यार्थीहरुको लागि आयोजना गरेको आत्मबल बढाउने एकदिने उत्प्रेरणा तालिमको उदघाटन गर्दै मेयर सिंहले वीरगन्जका ऐतिहासिक र धार्मिक स्थलहरुको जानकारी गराई पर्यटकीय प्रवर्द्धन गर्न आग्रह गरे ।
उनले वीरगन्जका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा वीरगन्जको बारेमा जानकारी गराउन आग्रह गर्दै वीरगन्जको ऐतिहासिक र धार्मिक स्थलहरुको विषयमा पुस्तक नै प्रकाशन गरिएको जानकारी दिए । काम गर्नेहरुको समाजमा आलोचना हुने बताउदै आलोचनाबाट भाग्ने भन्दा सच्चिएर अगाडि बढे मात्रै सफल भईने बताए ।
विद्यार्थीहरु आफ्नो उर्जाको स्रोत रहेको बताउदै मेयर सिंहले वीरगन्जको विकासका लागि गर्नुपर्ने कामहरुको विषयमा पनि आफूलाई सुझाव दिन विद्यार्थीहरुसँग आग्रह गरे ।
साउथजोन माध्यामिक विद्यालयका प्रधानाध्यापक सरोज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा निजी तथा आवासीय विदालय अर्गनाईजेशन (प्याब्सन) का केन्द्रीय सदस्य छेडुप लामा, प्रेस सेन्टरका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, प्याब्सनका पूर्व केन्द्रीय सदस्य प्रकाश उपाध्याय लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्याब्सनका जिल्ला उपाध्यक्ष बिरेन्द्र प्रसाद यादव, सुशीला साह, महानगर अध्यक्ष राहुल श्रीवास्तव, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निरोज चौलागाई, उत्प्रेरणा तालिमका प्रशिक्षक डा.तारा गिरी, वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, मानव सेवा आश्रमका देवेश गुप्ता,
जसपा वीरगन्ज महानगर अध्यक्ष इश्वर यादव, थारु विद्यार्थी समाजका केन्द्री सचिव विकास चौधरी, सञ्चारकर्मी सूर्यनारायण विक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण साउथ जोन माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक तथा प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले गरेका थिए । साउथ जोन माध्यामिक विद्यालय र मूनलाईट माविका कक्षा ९ र १० का विद्यार्थीहरुलाई प्रशिक्षक डा.तारा गिरीले प्रशिक्षण दिएका छन् ।