महोत्तरी । एकीकृत अखिल नेपाल शिक्षक संगठन मधेश प्रदेशको दोस्रो मधेश प्रदेश परिषद शनिबार महोत्तरीको बर्दिवासमा सम्पन्न भएको छ । बर्दिवास स्थित पञ्चधुरा पार्टी प्यालेसमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सचिव तथा मधेश प्रदेश अध्यक्ष भूपनारायण अधिकारीको अध्यक्षतामा भएको परिषदको प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूवमन्त्री गिरीराजमणी पोखरेलले उदघाटन गरेका थिए ।
कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सचिव तथा मधेश प्रदेश अध्यक्ष भूपनारायण अधिकारीले शैक्षिक मरुभूमिकरण बन्दै गएको भन्दै विद्यालय शिक्षाप्रति मधेश प्रदेश सरकारको उदासीनता र निरीहताले समाजलाई सक्षम पुस्ता दिन नसक्ने बताए।
शिक्षामा गुणस्तरीयता नभए मधेशले असल नागरिक पाउन नसक्ने भएकोले यसप्रति विशेष संवेदनशील हुन आवश्यक रहेकोमा जोड दिए । प्रदेश सरकार र स्थानीय सरकारहरु सुधारका लागि अभियान नै सञ्चालन गरी लाग्नुपर्ने, मधेश प्रदेशका १३६ पालिका मध्ये एउटा पनि स्थानीय तह साक्षर घोषणा नभएको अवस्थामा मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयले साक्षरता सम्बन्धी कुनै कार्यक्रम पनि नबनाएको प्रति प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
विकास निर्माण मै धेरै बजेट छुट्टिने तथा साक्षरतालाई प्रदेश सरकारले प्राथमिकतामा नराखेकोले प्रदेश सरकारलाई प्रदेशको साक्षरता दर, कुन जिल्ला र स्थानीय तहमा कति प्रतिशत नागरिक साक्षर भए नभएको समेत तथ्याँक नराखेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
साक्षर बनाउन कुनै योजना नै नभएकोले एक प्रतिभाशाली विषयविज्ञ व्यक्ति शिक्षक सेवा आयोगमा नाम निकालेर जब सामुदायिक विद्यालयमा पुग्छन्, उनको क्षमताको भरपूर उपयोग गर्न सम्बन्धित विद्यालयले गर्न सक्नु पर्नेमा जोड दिईएको छ । यो विषयमा मधेश प्रदेशले सोच्नु पर्ने एजेण्डामा प्रस्तुत गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गिरीराजमणी पोखरेलले वैज्ञानिक र व्यवहारिक शिक्षा विना देशको रुपान्तारण सम्भव नरहेको बताए । उनले परिषदमा पेश गरिएको एजेण्डालाई संगठनको तल्लो तहसम्म लगेर छलफल गरी एउटा ठोस निष्कर्ष निकाल्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा विशिष्ठ अतिथि एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य शंकर अधिकारी, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा मधेश प्रदेशको संसदीय दलका नेता भरत साहले पनि आफ्नो धारणा राखेका थिए । कार्यक्रममा मधेस प्रदेशका आठ वटै जिल्लाका अध्यक्षहरुले जिल्लाको शैक्षिक अवस्था र संगठनको गतिविधिहरुको बारेमा रिपोर्टिङ गरेका थिए ।
मधेश प्रदेश अध्यक्ष भूपनारायण अधिकारीले परिषद बैठकमा प्रस्तु गरेको एजेण्डा