वीरगञ्ज । पर्सा प्रहरीले लागूऔषध गाँजासहित पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको विशेष टोलीले मंगलबार राति ५० किलोग्राम लागूऔषध गाँजासहित चारजनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका पर्साको बहुदरमाई नगरपालिका–१ बिश्रामपुरका पारस यादव, बहुदरमाई नगरपालिका–१ बिश्रामपुरका मैनादिन मियाँ, बहुदरमाई–७ तिनटोलियाका अकवर मियाँ र बहुदरमाई–७ छपकैयाका शिव महतोलाई बुधबार बिहान सार्वजनिक गरेको हो ।
हरपतगञ्जको कुलोको बाटो हुदै चारजना अपरिचित मानिसहरु टाउकोमा प्लाष्टिकको बोरा भित्र रातो प्लाष्टिकमा बेरिएको ४ पोका लागूऔषध गाँजा बोकेर जादैँ गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले बताए ।
विशेष सूचनाको आधारमा प्रहरीको टोलीले वीरगञ्ज महानगरपालिकाको वडा नम्बर– २० हरपतगञ्जबाट चार जनालाई पक्राउ गरेको हो । पक्राउ गर्नका लागि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेल आफै पुगेका थिए ।
सूचना पाए लगत्तै प्रहरी बल सहित एसपी ढुंगेल हरपतगञ्ज पुगेका थिए । गाँजासहित पक्राउ परेका चारैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरेको पर्सा प्रहरीले जनाएको छ ।