वीरगन्ज । प्रेस सेन्टर नेपाल पर्साको सम्पन्न छैठौं जिल्ला अधिवेशनले शिवनाथ यादवको नेतृत्वमा १७ सदस्यीय जिल्ला समन्वय समिति चयन गरेको छ । शुक्रबार वीरगन्जको क्लासिक वंक्वेटमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व निर्विरोध चयन गरेको हो ।
कार्य समितिको उपाध्यक्षमा कृष्णमोहन साह, महिला उपाध्यक्ष समिना रंजितकार, सचिव अजित कुमार भुजेल, सह–सचिवमा विदुर गौतम, समावेशी सह–सचिव रंजित यादव, कोषाध्यक्ष संजित गुप्ता निर्विरोध निर्वाचित भएको सेन्टरका केन्द्रीय तथा निर्वाचन अधिकृत नीरज पिठाकोटे मगरले जानकारी दिए ।
समितिको सदस्यहरुमा रितेष झा, माधव तिमिल्सिना, दिपेन्द्र प्रसाद, बलिराम यादव, प्रणय साह, आनन्द साह, मेघराज राय थारु, विशाल पटेल, संयोग गिरी, सन्तोष कुशवाह गरी १७ सदस्य नयाँ कार्य समिति बनेको निर्वाचन समिति संयोजक निरज पिठाकोटेले बताए । शुक्रबार नै उद्घाटन सत्र भई सुरु भएको बन्द सत्रले नयाँ कार्य समिति चयन गरेको हो ।
त्यस्तै संतोष पौडेल, दीपक गौतमलाई केन्द्रीय परिषद प्रतिनिधिमा र भरत साह सोनार (सर्राफ), लालबाबु बानियाँ, सब्दर हुसैन र रञ्जित पाण्डेलाई प्रदेश प्रतिनिधि चयन गरिएको छ ।
त्यसअघि भएको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष गोबिन्द देवकोटाले पत्रकारहरुको हकहितमा काम गर्ने र उनीहरुलाई पत्रकारीता क्षेत्रमा अब्बल बनाउने एक मात्र संगठन प्रेस सेन्टर रहेको दाबी गरे ।
हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनबाट पर्सामा आफ्नो पार्टीको उम्मेदवार बिजयी भएको स्मरण गराउँदै उनले आगामी दिनमा यहाँबाट अब्बल पत्रकार उत्पादन गर्न पत्रकार महासंघ पर्साले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाई थियो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज विजय महतो, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, प्रदेश अध्यक्ष श्याम बन्जारा, पूर्व सचिव दीपेन्द्र चौहान, महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायतले शुभकामना व्यक्त गर्दै पर्सेली संचारकर्मीहरुको हितमा सबै संचारकर्मीहरुले सहकार्य गरेर अगाडी बढ्न पर्ने कुरामा जोड दिइएको थियो ।
कार्यक्रममा प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारी, समाजवादी प्रेस संगठनका पर्सा अध्यक्ष शम्भुकुमार सुमन लगायत पर्साका संचार संस्थाका नेतृत्वकर्ता तथा प्रतिनिधिहरुको अतिथ्यता रहेको थियो ।