वीरगन्ज । पत्रकारिकताको विकासका लागि नेपाल पत्रकार महासंघ, पर्सा तथा वीरगञ्ज कलेज, श्रीपुर बीच विभिन्न सात बुँदे सम्झौता भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा बिहीबार पत्रकार महासंघ पर्सा र वीरगञ्ज कलेजबीच विभिन्न सात बुँदे सम्झौता भएको हो ।
सम्झौता पत्रमा पर्सा जिल्लाको शैक्षिक, सामाजिक, अर्थराजनीतिक क्षेत्रको प्रवद्र्धनका लागि सहकार्य गर्ने, पर्सा जिल्लाको शैक्षिक क्षेत्र सुधारका लागि दुवै पक्षको सहकार्यमा विभिन्न बहस, अन्तरक्रिया गरिने उल्लेख गरिएको छ ।
पर्सा जिल्लाको पत्रकारिता क्षेत्रको प्रवद्र्धन र पत्रकारहरूको दक्षता अभिवृद्धिका लागि सहकार्य गर्ने, जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका पत्रकारहरुको क्षमता वृद्धिका लागि वीरगन्ज कलेजमा सञ्चालित पत्रकारिता विषयमा अध्ययनको व्यवस्था मिलाइने पनि दुवैपक्षबीच सम्झौता भएको कलेजका अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीले जानकारी दिए ।
पत्रकारिता अध्ययन गर्न चाहने सदस्य एवम् सञ्चारकर्मीलाई वीरगन्ज कलेजले प्रतिवर्ष पाँच हजारमा कक्षा ११ र १२ वीरगञ्ज स्कूल मार्फत अध्ययन गराउने भएको छ । त्यसमा राष्ट्रिय परीक्षा बोर्डले तोकेको रजिष्ट्रेशन, परीक्षा शुल्क तथा प्रमाण पत्र शुल्क विद्यार्थीले वहन गर्नुपर्ने छ ।
दुवै पक्षले आवश्यकता अनुसार स्थानीय अन्य सरोकारहरुको सकारात्मक परिवर्तनका प्रयासलाई प्राथमिकताका साथ समन्वय गर्ने पनि समझदारी पत्रमा उल्लेख छ । समझदारीको समयावधि चालु शैक्षिक सत्रसहित ३ शैक्षिक सत्रसम्म रहनेछ । आवश्यकता अनुसार दुवै पक्षको समझदारीमा अर्वाध थप्न सकिने समझदारी पत्रमा जनाईएको छ ।
समझदारी पत्रमा नेपाल पत्रकार महासंघको तर्फबाट अध्यक्ष ओमप्रकाश खनाल र वीरगन्ज कलेजेको तर्फबाट कलेका संचालक समिति अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीले हस्ताक्षर गरेका छन् । वीरगन्ज कलेज उपत्यका बाहिर पत्रकारिता र कानून पढाउने पहिलो निजी कलेज हो ।