वीरगन्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साको चौथो जिल्ला अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । शनिबार वीरगन्ज गेटवे होटलमा सम्पन्न अधिवेशनले अध्यक्षमा मूनेश लायो मगरको अध्यक्षतामा सात सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्ष ओमप्रकाश चौधरी, सचिव एञ्जल चौधरी, सहसचिव रामकिशोर चौधरी, कोषाध्यक्षमा सञ्जय दास थारू र सदस्यमा मेघराज राय र अर्जुन चौधरी लगायत कार्यसमिति निर्विरोध चयन भएका छन् । यसअघिका अध्यक्ष अजित कुमार भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदश इञ्चार्ज निरज पिठाकोटे मगरले नवनिर्वाचित कार्य समितिलाई बधाई दिदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।
उनले आदिवासी जनजाति पत्रकाहरू थोरै संख्यामा रहेपनि संख्यात्मक भन्दा गुणात्मक हुनुपर्नेमा जोड दिए । आदिवासी जनजाति कूलमै जन्मिएर पत्रकारिता गर्नेहरू आफूलाई आफ्नो समुदाय भन्दा फरक देखाउन खोज्नेहरू अवसरवादी भएको उनले बताए ।
मूलधारका मिडियामा कार्यरत धेरै आदिवासी जनजाति पत्रकारहरु संगठनलाई अत्यन्त सम्मान गर्ने गरेको र पत्रकारिताको पहिलो नेतृत्व नै आदिवासी जनजाति समुुदायबाट सत्यनारायण बहादुर श्रेष्ठ गरेको बताए ।
अहिले पत्रकार महासंघमा संस्थापक अध्यक्षको विषयमा पनि व्यापक बहस भईरहेको पत्रकार महासंघका संस्थापक अध्यक्षको विषय निकै गम्भीरताका साथ बहसमा आएको उनले बताए ।
कार्यक्रममा प्रदेश अध्यक्ष दुष्यन्त चौधरी, प्रदेश सदस्य शम्भु महतो थारू, पुनम चौधरी, बाराका अध्यक्ष जियालाल चौधरी लगायतको उपस्थिति रहेको थियो । यसैबीच पर्सा जिल्लाले पत्रकार महासंघमा निर्वाचित आदिवासी जनजाति पत्रकारहरूलाई सम्मान पनि गरेको छ ।
बारा पत्रकार महासंघमा निर्वाचित दुष्यन्त चौधरी, नवीन चौधरी, पर्सामा निर्वाचित अजित कुमार भेजेल र मधेस प्रदेशमा निर्वाचित जियालाल चौधरीलाई सम्मान गरिएको थियो । उनीहरूलाई फोनिज मधेस प्रदेश इञ्चार्ज निरज पिठाकोटे मगरले गाम्छा र अबिर लगाएर सम्मान गरेका थिए ।