वीरगन्ज । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा उमेरको हदबन्दी तोक्ने कि नतोक्ने भन्ने विषयमा निर्णय गर्न शनिबार पर्सा सहित देशभर मतदान भइरहेको छ । बिहान १० बजेबाट सुरु मतदान अपराह्न ४ बजेसम्म चल्ने संगठनले जनाएको छ ।
गत असोज १० देखि १५ गतेसम्म भएको अखिल क्रान्तिकारीको सम्मेलनमा उमेर हदको विवाद चर्किएपछि बन्द सत्र स्थगन भएको थियो । पर्सामा २८ जना प्रतिनिधिले आज मतदान गरेका छन् । संगठनको देशभर २ हजार ३ सय ९४ मतदाताले मतदान गरिरहेका छन् ।
संगठनकी निवर्तमान अध्यक्ष पञ्चा सिंहका अनुसार संगठनात्मक संरचनाअनुसार भौगोलिक र गैरभौगोलिक ८६ वटा जिल्ला मतदान केन्द्रमा उमेरहद ३२ लगाउने वा खुला गर्नेबारे मतदान भइरहेको छ ।
उनले अखिल क्रान्तिकारीको इतिहासमा पहिलोपटक विधानउपर मतदान भइरहेको बताईन् । उमेर हदको टुंगो लागेपछि यही पुस १७ गते केन्द्रीय नेतृत्व चयनका लागि भूगोल र गैरभूगोल गरी ९ प्रदेशस्तरमा मतदान हुनेछ ।