सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ अमाडारमा फेला परेको शव हत्या भएको हुनसक्ने आशंका गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगर टोलका ४७ वर्षीय राजकुमार रुम्बा मृत अवस्थामा भेटिएका थिए ।
सवारी भित्र अगाडीको सिटमा अचेत अवस्थामा एकजना पुरुष रहेको जानकारी पाएपछि प्रहरी टोली घटना स्थल पुगेको थियो । प्रहरीको टोली पुगेर हेर्दा पुरुष मृत अवस्थामा फेला परेको थियो । प्रहरीले अनुसन्धान गर्दा मृतकको पहिचान खुलेको बाराका प्रहरी प्रमुख महेन्द्र खड्काले बताए ।
आमाडारबाट लोसण्डा जाने भित्री सडक खण्डको सडक छेउमा आफ्नै साईडमा बा.प्र.०१–०२८ च ७६१६ न.को कार भित्र उनी मृत अवस्थामा शनिबार विहान फेला परेको प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । घटनाको जानकारी पाउना साथ गएको प्रहरी टोलीले अनुसन्धान गर्दा सिमरा एयरपोर्ट सुरक्षा दलमा कार्यरत प्रहरी कार्यालय सहयोगी रहेको खुलेको प्रहरी उपरीक्षक खड्काले बताए ।
घटनाको सम्बन्धमा सम्बन्धित व्यक्तिहरुसँग सोधपुछ र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिमरा विमान स्थलमै रहेको राष्ट्रिय अनुसन्धान विभागका प्रहरी निरीक्षकको कार एकछिनका लागि भनेर मागेर लिएर गएको स्रोतले जनाएको छ । मृतक रुम्बाको शव पोष्टमार्टमका लागि वीरगन्ज नारायणी अस्पतालमा ल्याईएको छ । मृतकको परिवारका कारण शव पोस्टमार्टम हुनसकेको छैन ।
नियोजित रूपमा उनको हत्या गरिएको भन्दै मृतकका परिवार, आफन्त र गाउँलेले इलाका प्रहरी घेराउ गरेका थिए । घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै उनीहरुले इलाका प्रहरी कार्यालय घेराउ गरेका हुन् । राति अबेरसम्म प्रहरी र मृतक पक्षबीच इलाका प्रहरी कार्यालय सिमरामा वार्ता भएपनि निष्कर्षमा पुग्न सकेन । वार्ता सफल नभएपछि मृतकका आफन्तहरु फेरी आईतबार आउने भनेर गएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक (डीएसपी) चिरञ्जीवि दाहालले बताए ।