वीरगन्ज । बीरगंज महानगरपालिका वडा नं १८, सौराहा टोलस्थित दुईवटा हड्डी प्रशोधन गर्ने कारखानाले गाउँका जनजीवन अस्तव्यस्त बनाएको छ। भैंसीका हड्डी प्रशोधन गरी पशु आहार र मल बनाउने कारखानाहरूले आवश्यक वातावरणीय मापदण्ड पूरा नगर्दा स्थानीय बासिन्दाहरू गम्भीर समस्यामा परेका छन्।
स्थानीयले गुनासो गरेपछि निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (१) का प्रदेशसमा सदस्य रहबर अन्सारीले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र प्रहरी उपरीक्षक कुमोध ढुंगोल, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल सहितको टोली लिएर शनिबार अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा कारखानाहरूको आधारभूत औद्योगिक मापदण्ड समेत निकै कमजोर रहेको पाइएको, फोहोर व्यवस्थापनको अभावमा मासु र हड्डीहरू खुला रूपमा फाल्ने र छेउको खोलामा फोहोर फाल्ने प्रवृत्तिले जल, माटो, र हावा सबै प्रदूषित भएको र त्यसले गर्दा गाउँभरी दुर्गन्ध फैलिएर स्थानीयहरूलाई खान बस्न, काम गर्न र जीवनयापन गर्न निकै कठिन बनाएको पाईएको प्रदेशसभा सदस्य रहबर अन्सारीले बताए।
विद्यालयमा जाने विद्यार्थीहरूले कारखानाबाट आउने गन्धका कारण पढाइ छोड्न बाध्य भएका, स्थानीय मन्दिरहरू पनि सुनसान देखिएको पाईएको उनले बताए । त्यहाँ अघिल्लो वर्षहरूमा यस्तै गन्धले आकृष्ट भएका हिंस्रक जनावरहरूले दुई व्यक्तिको ज्यान लिएको थियो । अनुगमनका क्रममा अवस्था अत्यन्तै दयनीय रहेको पाइएको उनले बताए ।
स्थानीयहरूले ती कारखाना तत्काल बन्द गरिनु पर्ने र घाइतेहरूलाई उचित क्षतिपूर्ति दिनु पर्ने माग गरेका छन्। प्रदेशसभा सदस्य अन्सारीले भने, ‘यस घटनाले सरकारी निकाय र सरोकारवालाहरूलाई यथाशीघ्र कदम चाल्न बाध्य पारेको छ। अब यी कारखानाको व्यवस्थापन र पर्यावरणीय मापदण्ड सुनिश्चित गर्न सबै पक्षले ठोस कदम चाल्न आवश्यक छ।’
शुक्रबार मात्रै कारखानाबाट आएको गन्धले आकृष्ट भएका स्यालहरूले गाउँमा आक्रमण गर्दा १० भन्दा बढी व्यक्ति घाइते भएका छन्। कारखाना परिसर खुला रहेको र त्यसमा कुनै पर्खाल नहुँदा जनावरहरू सजिलै गाउँमा पस्ने गरेका छन्। महिलाहरू, बालबालिका, पुरुष, र घरपालुवा जनावरहरू स्याल आक्रमणबाट त्रसित छन्।