वीरगन्ज । वीरगन्ज कलेजले शनिबार कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुका लागि स्वागत तथा अभिमूखीकरण कार्यक्रमको आयोजना गरेको छ । वीरगन्जको होटल भिस्वामा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले उदघाटन गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख प्रशासकीय अधिकृत कर्णले कक्षा ११ का विद्यार्थीहरुले वीरगन्ज कलेजलाई रोजेकोमा बधाई दिदँै आगामी दिनमा कलेजले दिने शिक्षालाई व्यवहारिक र उपयोगी बनाउन सुझाव दिए । उनले कलेजले विद्यार्थीहरुको भविष्य निर्माणका लागि बाटो मात्रै देखाउने भएकोले भविष्य निर्माण विद्यार्थीको मेहेनत, लगनशिलता र अनुशासनले मात्रै पूरा हुने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा व्यापार समितिका सभापति डा.सुवोध गुप्ताले विद्यार्थीहरुलाई कलेजले अध्ययनको साथमा उद्योग व्यवासायमा समेत प्रोत्साहन हुने कार्यक्रमहरु गर्ने भएकोले त्यसबाट आगामी दिनमा विद्यार्थीहले लाभ लिन सक्नुपर्ने बताए । उनले कलेजको अध्ययनले मात्रै भविष्य निर्माण नहुने भन्दै त्यसलाई व्यवहारमा उतार्नका लागि विद्यार्थीहरुमा अनुशासन र धैर्यता आवश्यक रहेको बताए ।
कलेज सञ्चालक समितिका अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) पर्साका बरिष्ठ उपाध्यक्ष सरोज चौधरी, एन–प्याब्सन वीरगन्ज महानगरका अध्यक्ष जियालाल गुप्ता, ग्लोबल आईएमई बैंकका वीरगन्ज शाखा प्रबन्धक विवेक टिवडेवाल लगायतले विद्यार्थीहरुको शैक्षिक प्रगति र उज्जवल भविष्यको शुभकामना व्यक्त गरेका थिए ।
औपचारिक कार्यक्रमको सञ्चालन कलेजका शिक्षक कृष्णा पासवान र स्वागत संचालक तथा प्रशासन प्रमुख सुरेश कुमार चौधरीले गरेका थिए । औपचारिक कार्यक्रमको समापन पश्चात आयोजना गरिएको अभिमूखीकरण कार्यक्रममा कलेजका प्रमुख विनोद गुप्ता र दर्शन केसीले विद्यार्थीहरुलाई नेतृत्व विकास र व्यक्तित्व विकासको बारेमा प्रशिक्षण दिएका थिए ।