कैलाली । सुनचाँदीको अवैध ओसार पसारको बाटो फेरिएको छ । पहिले त्रिभुवन विमानस्थल र उत्तरी नाकाबाट नेपाल भित्रिने गरेको सुनचाँदी अहिले दक्षिण भारतबाट नेपालमा अवैध रुपमा भित्रने गरेको छ । नेपाल भारतको सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुले करोडौंको चाँदी सहित मान्छे समेत पक्राउ गरेपछि सुनचाँदीको अवैधा ओसार पसार हुने गरेको खुलासा भएको हो ।
यहि क्रममा कैलालीको भजनीबाट सशस्त्र प्रहरीले एक करोड रुपैयाँ भन्दा धेरै मूल्य पर्ने सुन, चाँदी, नगद तथा अन्य सामानसहित तीन जनालाई पक्राउ गरेको छ। कैलालीको भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा इलाकाबाट शनिबार साँझ चाँदी बरामद भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
पक्राउ पर्नेमा सुर्खेतका चौकुनी गाउँपालिका–१० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका(१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका–११ बस्ने ३२ वर्षीय महेश सुनार रहेका छन्। उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली मातहतको बोर्डर आउट पोष्ट (बीओपी) पगियापसारले नियन्त्रणमा लिएको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्का लागि जाँच गर्दा ८० लाख ७९ हजार ५ सय ६१ रुपैयाँ मूल्य पर्ने ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको ८ किलो ९ सय १४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६ सय २५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाडाकुडा फेला परेको हो।
उनीहरुको साथमा रहेको सामानको श्रोत नखुलेपछि नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको थापाले बताए। पक्राउ परेकाहरूलाई बरामद सुन ,चाँदी, नगद र अन्य सामानसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। शनिबार मात्रै बारा प्रहरीले मात्रै १ करोड २ लाख बराबरको ६० किलो चाँदी सहित एकजनालाई पक्राउ गरेको छ ।