कलैया । जिल्ला प्रहरी कार्यालय बाराले १ करोड २ लाख मूल्य बराबरको चाँदी सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं.–५ घुसुकपुर बस्ने वर्ष ३६ को कर्म साह सोनार रहेका छन् । सोनारलाई ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट खटिएको प्रहरी टोली शनिबार पक्राउ गरेको हो ।
वीरंगजबाट हेटौंडातर्फ जादै गरेको बागमती प्रदेश ०३–००५ प ३२६ नम्बरको स्कुटीलाई रोकेर चेकजाँच गरेका सोनारलाई जीतपुरसिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंजमा रोकेर जाँच गर्दा स्कुटीको खुट्टा राख्ने ठाँउमा फल्स बटम बनाई लुकाई छिपाई लगिरहेको ६० किलो चाँदी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
चाँदी सहित पक्राउ परेका सोनारलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर आवश्यक थप अनुसन्धान र कारवाही प्रकृया अगाडि बढाएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सापकोटाले बताए ।