वीरगन्ज । स्रोत खुलाउन नसकेको नगद सहित भन्सार छलीका विभिन्न सामान सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वाटर पर्साले बरामद गरेको छ । श्रोत नखुलेको ८ लाख नेपाली रुपैया तथा बरामद गरेको भन्सर छलिको सामान गरी २३ लाख ५९ हजार ६५५ बराबरको सामान वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट ड्राईपोर्टबाट खटिएको टोलीले ८ लाख रुपैंया स्रोत नखुलेको नगद सहित एकजनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर–२५ खल्वाटोला नाकाबाट भारतबाट नेपाल तर्फ आउँदै गरेको ना. १८ प ७०१५० नम्बरको होण्डा साईन मोटरसाईकलमा सवार रहेका भारतको बिहार राज्य जिल्ला पुर्वी चम्पारण पन्टोका ग्राम पंचायत–०१ भलुवाही बस्ने वर्ष ३७ को बिशेश्वर यादवलाई पक्राउ गरेको हो ।
चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार यादवको साथबाट श्रोत नखुलेको नेपाली नगद ८ लाख रुपैंया बरामद भएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वाटरका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णुहरि घिमिरेले जानकारी दिए । यादवले प्रयोग गरेको मोटरसाईकलको समेत एकलाख ५० हजार भन्सार मुल्याङ्कन गरी जम्मा ९ लाख ५० हजार र मोटरसाईकल सहित नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक घिमिरेले बताए ।
त्यस्तै बिहीबार नै भारतबाट अबैध रुपमा भन्सार छली बिभिन्न सार्वजनिक सवारी साधनमा लोडगरी नेपाल तर्फ ल्यादै गरेको १२ लाख ८७ हजार ३५५ रुपैंया बराबरको किराना, कपडा, कस्मेटिक,मोटरपाट्स, जुत्ताचप्पल तथा स्टेशनरीको सामान वीरगन्ज–१६ भन्सार मेनगेटमा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले बरामद गरि आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
त्यस्तै बुधबार वीरगन्ज–२१ परवानिपुरबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेका १ लाख २२ हजार ३ सय मूल्य बराबरको भाडा वर्तन, लत्ता कपडा र किराना सामानहरु बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले भारतबाट अबैध रुपमा ल्याएको सामान बरामद गरी आवश्यक कारवाहिको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक
बिष्णुहरि घिमिरेले बताए ।