गोरखा । गोरखाको एक क्याम्पसले विद्यार्थीहरुलाई स्वरोजगारका लागि दुनाटपरी गाँस्ने तालिम दिएको छ । जिल्लाको द्रव्यशाह बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत छात्राहरुलाई दुनाटपरी गाँस्ने प्रशिक्षण दिएको हो ।
क्याम्पस प्रमुख एकदेव अधिकारीका अनुसार भोजभतेरमा प्लास्टिकका भाँडाको प्रयोग अत्यधिक बढ्दै गएकाले त्यसलाई निरुत्साहित गर्न तालिमको व्यवस्था गरिएको होे ।
स्थानीय वनमा पाइने सालका पातबाट दुनाटपरी बनाउन जानेपछि थोरै भए पनि आय आर्जन गर्न सहज हुने तथा सीप पनि सिकिने भएकाले छात्राहरूलाई तालिमको व्यवस्था गरिएको उहाँको भनाइ छ । तालिमले उनीहरुमा उत्साह भरेको छ ।
क्याम्पसले सञ्चालन गर्दै आएको ‘सिकौँ र सिकाऔँ’ अभियानअन्तर्गत छात्राहरुका लागि दुनाटपरी गाँस्ने तालिम सञ्चालन गरेको हो ।