वीरगन्ज । उपभोत्ता हित संरक्षण मञ्चको २९ औं साधारणसभा आज महत्वपूर्ण वीरगन्ज घोषणापत्र जारी गरी समापन हुदैछ । वीरगन्जमा शुक्रबारदेखि शुरु भएको साधारणसभा शनिबार समापन हुने भएको हो। वीरगन्जको होटल भिस्वामा भएको मञ्चको साधारणसभाका प्रमुख अतिथि पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उदघाटन गरेका थिए ।
उदघाटनसत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले उपभोत्ताको सवालमा सबैको बराबर दायित्व र जिम्मेवारी रहने बताए । उनले सार्वजनिक पद धारण गर्ने व्यक्ति, कुनै संघ संस्थामा बस्ने तथा जुनसुकै ओहोदामा बसेका भएपनि उपभोत्ताको अधिकारको सवालमा सबैजना एउटै वर्गको उपभोत्ता हुने बताउदै उपभोत्ताको अधिकारको विषयमा सबैले आ–आफ्नो स्थानबाट जनचेतना र जागरण फैलाउनुपर्ने आवश्यकता औंल्याए ।
उनले सिडीओ, एसपी, कुनै सरकारी कार्यालयका हाकिम वा अन्य कुनै संघ संस्थाको नेतृत्व गर्ने जो सुकै भएपनि उपभोत्ताको विषयमा भने सबैजना एउटै बास्केटमा पर्ने बताए । उनले उपभोत्ता अधिकारको कुरा गर्दा खाद्यवस्तुहरुको विषयमा मात्रै बढी केन्द्रीत हुने गरेको पाइएकोले सेवा क्षेत्रमा पनि उपभोत्ता अधिकारकर्मीहरुले चेतना फैलाउनुपर्ने सुझाव दिए ।
नेपालको सार्वजनिक सेवाहरुको गुणस्तर एकदमै कमजोर हुँदा नागरिकमा नकारात्मक भावनाको विकास भईरहेको भन्दै उपभोत्ता अधिकारको सवालमा सबै समान हुनुपर्ने धारणा राखे । मञ्चका केन्द्रीय अध्यक्ष ज्योति बानियाँले वीरगन्ज नेपालको प्रमुख प्रवेशद्वार भएको र आयातित वस्तुहरुको गुणस्तर जाँचहरु सबै वीरगन्जबाट हुनुपर्नेमा जोड दिए ।
उनले देशको आर्थिक धमिनी नै वीरगन्ज भएकोले धमिनी सफा नभए समग्र शरीरमा रोग फैलिने भएकोले वीरगन्जलाई सबै परीक्षण र प्रयोगशालाको केन्द्र बनाउनुपर्ने बताए । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले स्वस्थ र स्वच्छ बजार नहुँदा वीरगन्जको व्यापार संकुचित हुदै गएको र राज्यको नीति पनि व्यावसायी मैत्री हुन नसकेको बताए ।
उनले आयात गर्ने वस्तुहरुको परीक्षण गर्ने प्रयोगशाला वीरगन्जमा नहुँदा समय लाग्ने र त्यसले व्यापारमा समेत नकारात्मक प्रभाव पर्ने गरेको बताए । उनले बजार अनुगमनको नाममा विभिन्न निकायहरुले बेला बेलामा दुःख दिने गरेको गुनासो गर्दै यसलाई एकीकृत अनुगमन प्रणालीबाट अनुगमन गर्ने वातावरण बनाउनुपर्ने बताए ।
मञ्चका केन्द्रीय अध्यक्ष ज्योती बानियाँकै अध्यक्षतामा भएको साधारणसभामा देशभरबाट ८० जना भन्दा बढीको प्रतिनिधिहरुको सहभागिता रहेको छ। कार्यक्रमको सञ्चालन मञ्चका केन्द्रीय सदस्य धिरज शर्माले गरेका थिए । शनिबार हुने बन्दसत्रले संस्थाको आगामी कार्यदिशा, रणनीति र कार्ययोजनाहरु पारित गर्नेछ ।