वीरगन्ज । वीरगन्ज महानगरपालिकाले एकैपटक १४ हजार किशोरीहरुलाई एकै ठाउँमा आत्मरक्षाको तालिम दिएर इतिहास बनाएको छ । समाजमा हुने विभिन्न खाले महिला हिंसा र दूर्व्यवहार रोक्न वीरगन्ज महानगरपालिकाले १४ हजार भन्दा बढी किशोरी महिलाहरुलाई आत्मरक्षाको तालिम दिएको हो ।
वीरगन्जको आदर्शनगर रंगशालामा बुधबार तालिमको संघीय खानेपानी मन्त्री प्रदीप यादवले उदघाटन गरे । उदघाटन मन्तव्य दिदै मन्त्री यादवले आत्मरक्षाको तालिमले किशोरीहरूको आत्मबल र आत्मविश्वासलाई नयाँ उचाइमा पु-याउनुका साथै उनीहरूको व्यक्तिगत सुरक्षामा योगदान दिनुका साथै समाजमा महिला सुरक्षाको सकारात्मक उदाहरण पनि स्थापित गरेको बताए ।
नेपालमा भारतीय प्रशिक्षद्वारा गरिएको प्रशिक्षणले दुई देशबीचको मित्रतालाई अझ सुदृढ बनाएको विश्वास व्यक्त गरे । एकै पटक १० हजार किशोरीहरूलाई आत्मरक्षा तालिम प्रदान गर्दै वीरगञ्ज महानगरपालिकाले विश्व रेकर्ड कायम गर्ने साहसिक प्रयास गर्नु सम्पूर्ण देशकै लागि गौरवको कुरा भएको बताए ।
वीरगन्ज महानगरपालिका र नेपाल भारत सहयोग मञ्चको समन्वयमा भारतीय बलिउड र हलिउडका कलाकारहरुलाई समेत प्रशिक्षण दिएका भारतीय प्रशिक्षक डाक्टर यजनेश सेट्टीद्वारा प्रशिक्षण दिइएको छ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वीरगन्जका छोरीचेलीहरु समाजमा कसैसँग डराएर हिड्नुपर्ने अवस्थाको अन्त्य गरी महिला हिंसा र दूर्व्यवहार रोक्न तालिमको आयोजना गरिएको बताए । उनले भने, ‘हाम्रो छोरीहरुको पहिचान यस्तो हुनुपर्छ । कि मृत्यु पनि मे आई कम इन सर रु भनेर सोध्न परोस ।’
उनले पहिले वीरगन्ज महानगरक्षेत्र भित्रका सामुदायिक विद्यालय र निजी विद्यालयहरुका किशोरीहरुका लागि आवेदन आह्वान गरिएकोमा पछि महिला र किशोरीहरुको लागि पनि खुला गरेपछि प्रशिक्षणमा सहभागीहरुको संख्या उत्साहजनक बढेको बताए । मंगलबार दिउँसो १ बजेसम्ममा १५ हजार १ सय जनाको आवेदन दर्ता भएको र व्यावस्थापनमा समस्या हुन नदिनका लागि आवेदन बन्द गरिएको बताए ।
उनले सहभागीहरु मध्य १२ हजार ९ सय ७४ जनाको फाराम सहित विश्व रेकर्डका लागि गिनिज बुक अफ वल्र्ड रेकर्डको कार्यालयमा पठाईएको पनि जानकारी दिए । सम्भवतः नेपालमै पहिलो पटक एकैपटक सामुदायिक र निजी विद्यालयका छात्राहरु तथा अन्य क्षेत्रमा काम गरेका महिलाहरुको लागि लक्षित प्रशिक्षणले महिलाहरुको आत्मबल बढ्ने र आत्मरक्षाका लागि सक्षम हुने विश्वास गरेको प्रमुख सिंहले बताए ।
अव वीरगंजका सामुदायिक तथा निजी बिद्यालयमा प्रत्येक हप्ताको शुक्रबार आत्मारक्षाको लागि मार्शल आर्टस् सम्बन्धि तालिम दिईने नगर प्रमुख सिंहले बताए । यसअघि भारतको आग्रा स्थित एक स्थानीय तहले एकसाथ ७ हजार ४ सय १ जना छात्राहरुलाई आत्मारक्षाको तालिम दिएर वल्र्ड रेकर्ड बनाएको थियो ।