धरान । इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहेका छन् । उनलेभारतको सिलगुडीबाट बेत ल्याएर फर्निचर बनाउँदै मासिक ५० हजार आम्दानी गर्दै आएका छन् ।
बेतबाट बनेका डोका, डाला, नाङ्लो मुढा, कोक्रोलगायत फर्निचरमा ग्राहकको आकर्षण बढिरहेको छ । बेतको फर्निचर आकर्षक र टिकाउ भएकाले ग्राहकको रोजाइमा आफ्ना उत्पादन परेको श्रेष्ठले बताए । सजावटका सामानको उच्च माग रहेकाले आफू त्यसमा नै बढी व्यस्त हुने गरेको बताए ।
उनको पसलमा १२ प्रकारका बेतका सामान बिक्रीमा राखिएको छ । बेतबाट बनेका सजावटका सामान रु सात सयदेखि रु १६ हजार सम्ममा बिक्री हुने गरेका छन् । सिलगुडीबाट एक बण्डल बेतलाई रु तीन हजार पाँच सय पर्ने गरेका छन् । एक बण्डल बेतबाट पाँचवटासम्म सामान बनाउन सकिने भएकाले आफूलाई घाटा नभएको उनको भनाई छ ।
राजकुमारजस्तै धरान–९ का पर्शु तामाङले पनि बेतका सामग्री बेचेर मनग्ये आम्दानी गर्दै आएका छन् । ११ वर्षदेखि बेतका फर्निचर बनाउँदै आएका उनले मासिक रु ८० हजारसम्म आम्दानी हुने गरेको बताए ।
कोक्रो, सोफा, डाइनिङ टेबल, कुर्सी, मुढा, ह्याङ्गर, धाकी, गमला र्याक लगायत सामान बनाउने गरेका छन् । हातमा सीप भए रोजगारीका लागि विदेशिनु नपर्ने तथा स्वदेशमै व्यवसाय गर्न युवापुस्तालाई प्रेरित गर्नुपर्नेमा उनको सुझाव छ ।