काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सरुवा गरिएपछि तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीहरूको सूची मन्त्रालयमा तयार भइरहेको जानकारी दिएका छन् । मन्त्रालयले गरेको सरुवालाई अवज्ञा गर्दै कर्मचारीहरूले तोकिएको कार्यालयमा हाजिर नगरेको गुनासो बढेपछि उनीहरूको नामावलीसहितको विवरण सङ्कलन थालिएको मन्त्री गुप्ताले बताए ।
विवरण सङ्कलनपछि के कति कारणले उनीहरू सम्बन्धित कार्यालयमा हाजिर हुन नसकेका हुन् त्यसबारे स्पष्टीकरण सोधेर आवश्यक कारबाही गर्ने तयारी भइरहेको भन्दै मन्त्री गुप्ताले खटाइएका कर्मचारीहरूलाई हाजिर गर्न नदिने गाउँपालिका र नगरपालिकामाथि पनि मन्त्रालयले कारबाही गर्ने चेतावनी दिए ।
जनताले दैनिक रूपमा सेवा उपभोग गर्ने स्थानीय तहका कुनै पनि कार्यालयमा नगर तथा गाउँपालिका प्रमुख अथवा कर्मचारीहरूबाट हुने कमजोरीमाथि मन्त्रालयले आवश्यक निगरानी गरिरहेको बताउदै मन्त्री गुप्ताले सुशासनको सवालमा सरकार दृढ रहेको र कसैको दबाब वा प्रभावमा आफू नपर्ने स्पष्ट पारे ।
गाउँ वा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बन्यो भने जनताले सेवासुविधा नपाउने र जनताको सेवा सुविधाका लागि पनि आफू निर्मम भएर अघि बढ्ने विश्वास उने व्यक्त गरे । यद्यपि, कोही कर्मचारीको वास्तविक समस्या रहेको खुलेमा उनीहरूका हकमा सहजीकरण गर्न पनि आफू तयार रहेको मन्त्रीको भनाइ छ ।
कर्मचारी नपुग भएको ठाउँमा मन्त्रालयको ध्यान पुगेको भन्नुहुँदै उहाँले अब केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्ने दाबी दोहोर्याउनुभयो । विभिन्न मन्त्रालयमा थुप्रिएर बसेका कर्मचारीहरूलाई पालिकाहरूमा पठाउने काम सुरू भइसकेको जानकारी पनि उनले बताए ।