घोराही । दाङको घोराही उपमहानगरपालिका–१३ डुम्बरगाउँमा बस्दै आउनुभएकी रानीलाक बुढा हिजोआज सिन्कामारी रोटी बेच्नमा व्यस्त देखिन्छन् ।
उनले विगत दुई वर्षदेखि तिहार लक्षित सिन्कामारी रोटी बिक्री गर्दै आएका छन् । विशेषगरी तिहारमा खाइने सिन्कामारी रोटी हिजोआज घोराही बजारसँगै नजिकका गाउँमा समेत बिक्री हुने गरेको छ । गत वर्षको तिहारमा मात्र तीन दिदीबहिनी मिलेर दुई लाख रुपैंया बढीको रोटी बिक्री गरेको बुढाले बताए ।
यो वर्ष अझ धेरै आम्दानी गर्ने उनको अनुमान छ । केही दिनयता दैनिक रु सातदेखि आठ हजार सम्मको रोटी बिक्री गर्दै आएका छन् । हेर्दा आकर्षक, खानलाई स्वादिलो, सजिलो तथा तयारी खाजाका रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा सिन्कामारी रोटीको धेरै खपत हुनेगर्छ । यो रोटी चामलको पिठो पकाएर त्यसलाई मेसिनमा पेलेर बनाउने गरिन्छ ।
बनाउन झन्झटिलो भए पनि सिन्कामारीको व्यापार राम्रो रहेको उनको अनुभव छ । कतिपय ग्राहक घरमै किन्न आउने भएकाले बजारको समस्या नभएको उनको भनाइ छ । उनले एक दर्जन रोटी दुई सय ५० का दरले बिक्री गर्ने गरेका छन् ।
जिल्लामा तिहार लक्षित सिन्कामारी रोटी बनाएर बिक्री गर्नेको सङ्ख्या बढ्दै गएको छ ।