वीरगन्ज । सशस्त्र प्रहरी १८ लाख र नेपाल प्रहरीले ३ लाख मूल्य बराबरको भन्सार छलिको सामान बरामद गरी वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ । पर्साको विभिन्न नाका हुँदै अवैध रुपमा नेपाल ल्याउँदै गरेको १८ लाख ५८ हजार १ सय ३५ रुपैंया बराबरको समान बरामद गरी आवश्यक कारवाहीका लागि भन्सारमा बुझाएको हो ।
सुचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेका अनुसार शनिबार र आइतबारका दिन गरिएको नियमित चेकजाँचका क्रममा सो परिमाणको भन्सार छलीका समान बरामद गरिएको हो । प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको टोलीले आईतबार वीरगञ्ज महानगरपालिका–१६ ईनर्वा स्थित विभिन्न सीमा नाकाहरुबाट १४ लाख ६० हजार ४ सय ४५ रुपैंयाको समान बरामद गरेको छ ।
अवैध रुपमा सार्वजनिक सवारी साधनमा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको किराना सामान, कपडा, कस्मेटिक, मोटरपार्टस, मोबाईल एसेसोरीज, ईलेक्ट्रोनिक्स तथा मेडिकलका समानहरु बरामद गरेको हो । त्यस्तै बोर्डर आउट पोष्ट ड्राईपोर्टबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–२५ चण्डाल चोकमा चेकजाँचका क्रममा १ लाख ६९ हजार ६ सय रुपैंया मूल्य बराबरका जुत्ता, कपडा र किराना सामान बरामद गरेको छ ।
त्यसैगरी शनिबार प्रस्तावित सिमा सुरक्षा गुल्म अलौको टोलीले पनि २ लाख २८ हजार ९० रुपैंया बराबरको भन्सार छलीका समान बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका – १९ बर्वाबाट किराना सामान, ईलेक्ट्रिक सामान, मोटर पार्टस, कपडा तथा खेलौनाका सामान बरामद गरेको हो । बरामद गरेको सामान आवश्यक कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले जानकारी दिए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्साले पनि भन्सार छलिको अवैध सामान बरामद गरेर भन्सारमा बुझाएको छ । कार्तिक ३ गते विभिन्न स्थान र समयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी तस्करी गरी भित्राइएको विभिन्न किसिमका लत्ताकपडाहरू तथा खाद्यान्न मालबस्तुहरू बरामद गरेर भन्सार बुझाएको हो ।
प्रहरीले बरामद गरेको ३ लाख ७४ हजार ११० रुपैंया बराबरका मालबस्तुहरू बरामद गरी आवश्यक कारवाहीको लागि आईतबार वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक भारतीले जानकारी दिए ।