काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले आकस्मिक रूपमा खानेपानी मन्त्रालय र खानेपानी तथा ढल व्यवस्थापन विभागमा छड्के अनुगमन गरेका छन् । दसैँ बिदापछि सरकारी कार्यालय खुलेको दोस्रो दिन आकश्मिक छड्के अनुगमन गरेका हुन् ।
दसैँपछि पनि कर्मचारीहरूको कार्यालय उपस्थितिमा समस्या देखिएको गुनासो आएपछि मन्त्री यादवले कार्यालय अनुशासन र कार्यसम्पादन सुधार्न एकैपटक मन्त्रालयका सबै शाखासहित खानेपानी तथा ढल व्यवस्थापन विभागको अनुगमन तथा निरीक्षण गरेका हुन् ।
अनुगमनका क्रममा खानेपानी मन्त्रालयमा ११ जना र खानेपानी तथा ढल व्यवस्थापन विभागमा २ जना गरी जम्मा १३ जना कर्मचारी बिना सूचना अनुपस्थित भेटिएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिए ।
अनुगमनपछि मन्त्री यादवले कर्मचारीहरूसँग व्यक्तिगत रूपमा भेटेर उपस्थितिको नियमितता र जिम्मेवारीप्रतिको प्रतिबद्धता कडाइका साथ पालना गर्न निर्देशन पनि दिए । कार्यालयमा अनुपस्थित कर्मचारीहरूमाथि कारण देखाऊ पत्र जारी गर्दै आवश्यक स्पष्टीकरण मागिने भएको छ ।
अनुपस्थितिको ठोस कारण बिना पुनः गैर हाजिर हुनेहरूलाई कारबाहीको दायरामा ल्याइने चेतावनी समेत मन्त्रीले दिएको छ । मन्त्री यादवले अनुगमनका क्रममा कार्यालयमा उपस्थित कर्मचारीहरूसँग कामको प्रकृति, कठिनाइ, र सेवा प्रवाहमा भोग्नुपर्ने समस्या बारे विस्तृत छलफल पनि गरेका छन् ।
मन्त्री यादवका अनुसार, छड्के अनुगमनको उद्देश्य कार्यालयमा अनुशासन कायम राख्दै सेवा प्रवाह सुधार गर्नु हो । उनले यस्ता निरीक्षणलाई नियमित रूपले अघि बढाउने र कार्यालयहरूको कार्यसम्पादनमा शिथिलता आउन नदिन थप कडाइ गरिने बताए ।