वीरगञ्ज । सशस्त्र पहरी बल नेपाल, नम्बर १३ गण हेडक्वाटर पर्साले भन्सार छलिका साढे १० लाख भन्दा बढीको सामान बरामद गरेर भन्सार दाखिला गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ भन्सार मेनगेट स्थित बिभिन्न सीमानाकाहरुबाट प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको टोलीले १० लाख ५७ हजार ३५५ मूल्य बराबरको भन्सार छलिका सामान बरामद गरि भन्सार दाखिला गरेको हो ।
भारतबाट अबैध रुपमा ना २ ह ३८८७ नं को अटो लगायत बिभिन्न सार्वजनिक सवारी साधनमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको ७ लाख ५७ हजार ३५५ मूल्य बराबरको किराना, मोटरपार्टस, कस्मेटिक, मोवाईल एसेसोरीज, कपडा, ईलेक्ट्रोनिक्स र खेलौनाका समानहरु बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए ।
सशस्त्र प्रहरीले सामान सहित बरामद गरेको अटोको भन्सार मुल्य तीन लाख रुपैंया मुल्याङ्कन गरि सामान र अटो सहित जम्मा १० लाख ५७ हजार ३५५ मूल्य बराबरको सामान र अटो नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक धामीले बताए ।