वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विजयादशमीका अवसरमा आस्था र निष्ठाका साथ गरिने पूजापाठले आध्यात्मिक जीवनलाई सार्थक बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
हिन्दुहरूकाे महान् पर्व विजयादशमीको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री गुप्ताले यस पर्वले समाजमा नयाँ उत्साह र उमङ्ग छर्ने बताए ।
“आनन्द, खुसी र एकताको यो पर्वले सबैको जीवनमा खराब आचरणको अन्त्य गर्दै समाजमा नयाँ ऊर्जा तथा उत्साह सञ्चार गर्न सकोस्”, उनले भने ।
मन्त्री गुप्ताले आख्यानका आधारमा तिथि विशेषमा मनाइने हाम्रा प्रत्येक पर्व–त्योहार आफ्नो मान्यतामा अनौठो र मौलिक रहेका उल्लेख गरे।
यस्ता पर्वले सांस्कृतिक परम्परालाई अक्षुण्ण राख्न सहयोग पुग्ने भन्दै उनले नेपालीका महत्त्वपूर्ण चाडपर्वमध्ये विजयादशमी पनि एक भएको उल्लेख गरे। “भूगोल, क्षेत्र, वर्ग र समुदाय अनुसार दशैं, बडादशैं, दशहरा, दुर्गा पूजा, नवरात्री आदि नामले समेत चिनिने यो महापर्व असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा मनाइन्छ ।
विजयादशमी सामाजिक मात्र नभई राष्ट्रिय महत्त्व बोकेको पर्व पनि हो । यसले कु प्रवृत्तिमाथि सद्वृत्तिको विजय, असत्यमाथि सत्यको विजय, अन्धकारमाथि प्रकाशको विजयको सन्देश दिन्छ”, मन्त्री गुप्ताले भने ।
उनले विजयादशमीले समाजमा चेतना र सजगता ल्याउँदै सबैलाई मन–बचनबाट सुकर्म गर्न र कुविचार परित्याग गर्न सघाऊँ पुगोस् भनी कामना समेत गरे। यस्तै, विजयादशमीले आपसी शत्रुता र कटुता बिर्सेर एकर्कामा शुभकामना आदानप्रदान गर्ने अवसर प्रदान गर्दै परिवार र समाजमा एकता, प्रेम र सद्भावना बढाउनमा सहयोग पुग्ने र सामाजिक सम्बन्धलाई बलियो र एकताको भावना अभिवृद्धि गर्नमा सघाउने मन्त्री गुप्ताको विश्वास छ ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकामा आयोजित कार्यक्रममा समाज कल्याण मन्त्री प्रमोद जैसवाल , सखुवा प्रसौनी गाउँपालिकाका प्रथम गाउँपालिका अध्यक्ष प्रदीप जैसवाल , पकाहा मैनपुर गाउँपालिकाका प्रथम अध्यक्ष विजय चौरसिया लगायतको सहभागिता रहेको थियो ।