वीरगन्ज । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधामन्त्री केपी शर्मा ओलीले बडादशैंको टिका ग्रहण गरेका छन् । पौडेलले ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट शुभसाइतमा यस वर्षको दशैँको टीका, प्रसाद, जमरा र आशीर्वाद ग्रहण गरेका हुन् । राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दशैंको टीका, जमरा र प्रसाद ग्रहण गरे ।
राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दशैंको शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गर्नुभएको हो । राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाइदिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
विजया दशमीका उपलक्ष्यमा शनिबार दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ः३० बजेसम्म विशिष्ट व्यक्तित्व र ३ः३० देखि ५ बजेसम्म सर्वसाधारणलाई टीकाजमरा लगाइदिने कार्यक्रम रहेको छ । राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ देखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिनुहुनेछ ।
साथै, सोही समयमा निजामती, जंगी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिने कार्यक्रम छ । यसैगरी दिउँसो ३ः३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई पनि राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिने कार्यक्रम छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्य तथा अन्य परिवाजनलाई पनि टीका लगाइदिएका छन् । यसपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
यसपटक बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद्का कारण प्रधानमन्त्री ओलीले सर्वसाधणलाई टीका लगाइदिने कार्यक्रम भने नरहेको सचिवालयले जनाएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार दसैँको टीकाको शुभ साइत आज बिहान ११ बजेर ३६ मिनेटमा आरम्भ भएको छ ।