वीरगन्ज । दशैंमा दश पटक खाने भन्ने गाउँघरमा पूरानो कहावत छ । अनि दशैंमा पनि टन्न खाएर रमाइलो नगरे कहिले गर्ने ? भन्ने आम बुझाइ पनि छ । धेरैले दसैंलाई ‘नयाँ लुगा लाउने, मीठो खाने’ चाडका रुपमा पनि लिन्छन् ।
सबैको घरमा यतिबेला मांसाहारी, शाकाहारी परिकारमात्रै होइन, मिठाई, रोटीसमेत पाक्ने गर्छ । नेपालीहरुको विशेष पर्व भएकाले पनि यस समयमा माछामासुका धेरै परिकार खाने चलन पनि छ । तर के दशैंमा टन्न खानैपर्छ ? दशैंमा धेरै खाने र चिल्लो पिरो खाएमा शारिरिक अस्वस्थता हुन सक्छ ।
घरमै तयार गरिएका परिकार मात्रा मिलाएर ठिक्क खाए फरक नपर्ने पोषणविद्हरुको भनाई छ । चिल्लो, पिरोे कम भएका स्वस्थकर परिकारले स्वास्थ्यलाई कुनै हानी नगर्ने उनीहरु बताउछन् । पटक पटक प्रयोग गरिएको तेल हुनसक्ने, भएकोले सकेसम्म बाहिरबाट मगाएर नखानु नै राम्रो हुने र घरमै पकाएको खाना ठिक्क मात्रामा खाए केही फरक नपर्ने पोषणविद्हरु बताउछन् ।
दशैंमा आफन्तजनहरुको बाक्लो उपस्थिति हुन्छ । पाहुनाहरुको आउजाउले गर्दा खानेकुराको प्रयोग अत्यधिक हुन्छ । विशेषगरी चाडपर्वमा मानिसले चाहिनेभन्दा बढी खाने र त्यसले गर्दा विभिन्न स्वास्थ्य समस्या सिर्जना हुने पोषणविद्हरुको भनाइ छ ।
चाडवाडमा यसै पनि धेरैजसोले प्रायः सन्तुलित भोजन तथा व्यायाम गरिराखेका हुँदैनन्, त्यसमाथि धेरै खाँदा उल्टो समस्या पार्न सक्ने उनीहरुको भनाई छ । चिल्लो, पिरो, नुनिलोको मात्रा बढी छ भने पेट अपच हुने, कब्जियत, ग्यास्ट्रिक पनि हुनसक्ने र अधिकांशलाई पछिल्लो समयमा पायल्सको समस्या पनि देखिएको छ ।
त्यसकारणले दशैंमा खानपानमा बढी ध्यान दिनुपर्ने उनीहरु बताउछन् । चाडपर्वमा कुनै पनि परिकार एकैपटक पकाउने र त्यसलाई तताउँदै खाने बानी राम्रो होईन । विशेषगरी मासु एकैपटक धेरै पकाउने र त्यसलाई तताउँदै खाने चलन छ ।
त्यो भन्दा पनि खान सकिने जति झिकेर पकाउन सकिन्छ । मासुमा यसै पनि धेरै तेल प्रयोग भएको हुन्छ । पटक पटक तताउँदा हानिकारक तत्वहरु उत्पादन भइरहेका हुन्छन् ।
पोषक तत्व नष्ट भइरहको हुन्छ । अरु समयभन्दा दशैँमा माछामासुको बढी प्रयोग हुने भएकाले यसका साथमा हरियो सागसब्जी तथा फलफूल, दही, सलाद पनि खान पोषणविदहरुको सुझाव छ ।
पानी प्रशस्त पिउने ‘कोल्ड ड्रिङ्क्स’को सट्टा नरिवल पानी, मोही, लस्सी बनाएर खान सकिने उनीहरुको भनाई छ । पोषणविद्हरु चाडपर्वका परिकारले नियमित औषधि खाइरहेका दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई गाह्रो हुन सक्नेतर्फ पनि सचेत गराएका छन् ।