काठमाडौँ । असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै ७३ करोडबराबरको क्षति भएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार अविरल वर्षाका कारण ७२ करोड ९८ लाख ८० हजार रुपैंया बराबरको क्षति भएको हो ।
क्षति भएकामध्ये पश्चिम नेपाल यातायात बस व्यवसायी प्रालिको रु ११ करोड ८८ लाख ८० हजार , नमस्ते नेपाल यातायात व्यवसायी प्रालिको रु दुई करोड ८५ लाख, गोरखा दरौँदी यातायात सेवा कम्पनीको रु ६० लाख बराबरको क्षति भएको महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।
यस्तै, बाग्मती टिपर व्यवसायी सङ्घको रु २७ करोड, नेपाल ट्रक टिपर व्यवसायी सङ्घको २० करोड, महाकाली व्यवसायी बहुउदेश्यीय कम्पनी प्रालिको रु छ करोड ६५ लाख र रसुवागढी नाकामा चार करोड बराबरको क्षति भएको छ ।
महासङ्घका महासचिव डेकनाथ गौतमले देशभर सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गरेर बुधबार गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा बुझाइएको जानकारी दिए ।