वीरगन्ज। वीरगन्ज महानगरपालिकाको वडा नम्बर १७ अलौंमा भएको घटनाको विषयमा वीरगन्ज महानगरका तीनवटा पार्टीले एकअर्कालाई कारवाहीको माग गरेका छन् । नेकपा एमाले वीरगन्ज महानगर कमिटि, नेपाली कांग्रेस पर्सा जिल्ला कार्यसमिति र जसपा महानगर कमिटिले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी कारवाहीको माग गरेको हो ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौमा जमेको पानीको निकासको विषयमा भएको विवाद अहिले पार्टी तहमा पुगेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र जसपाले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर नागरिकको सामु आफूलाई राम्रो देखाउने होडवाजी नै चलेको छ ।
असोज २१ गते सोमबारका दिन वीरगंज महानगरपालिका वडा नं.१७ अलौंमा वर्षाको पानी निकास सम्बन्धमा नगर प्रमुख राजेशमान सिंहको नेतृत्वमा नगर प्रहरी समेतको टोली पुगेर स्थानीयबासी ज्येष्ठ नागरिक नेपाली काँग्रेसका नगर वडा कार्य समितिका सभापति शिव ओम लामिछानेसँग हातपात गरेको भन्दै कारवाहीको माग गरेको छ ।
नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेयले जारी गरेको विज्ञप्तिमा मेयर सिंहले ओम लामिछानेमाथि अभद्र व्यवहार गरेको र उनको छोरा सुदर्शन लामिछानेलाई नगर प्रहरीले अराजक शैलीमा कुटपिट गरी घाइते बनाएको घटना प्रति नेपाली काँग्रेस पर्साले घोर निन्दा गर्दै घटनाको निष्पक्ष छानविन गरी दोषी माथि कारबाही गर्न स्थानीय प्रशासनसँग जोडदार मांग गरेको छ ।
यता जनता समाजवादी पार्टीले भने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ । पार्टीको वीरगंज महानगर कार्य समितिका अध्यक्ष इश्वरचन्द्र यादवले जारी गरेको विज्ञप्तिमा महानगर प्रमुख सिंहमाथि दुर्व्यवहार गर्ने सुदर्शन लामिछाने र उनका पिता शिव ओम लामिछानेलाई कारबाही गर्न माग गरिएको हो ।
वीरगंज महानगरपालिकाको वडा नं. १७, २४, २५ र २६ को दर्जनौं घरसहित सयौँ विघा जग्गामा लगाइएको धानबाली डुबानमा परेको जनजीवन नै अस्तव्यस्त बनाएको भन्दै स्थानीयले उद्दारका लागि निवेदन दिएपछि सम्बन्धित वडा अध्यक्ष मार्फत समस्या समाधानको प्रयास भएपनि निकास ननिस्किएपछि प्राविधिक सहित स्थलगत निरीक्षणमा पुगेका बेला सिंह माथि दुर्व्यवहारको प्रयास भएको विज्ञप्तिमा जनाएको छ ।
स्थानीय सरकारको प्रमुखले आफ्नो पालिका भित्रका नागरिकले भोगेको समस्या जान्ने, बुझ्ने र त्यसको समाधानका लागि हरसम्भव प्रयास गर्नुपर्ने दायित्व कर्तव्य भएको भन्दै विज्ञप्तिमा नागरिकको समस्यालाई आफ्नै समस्या ठानेर समस्या आएको ठाउँमा स्थलगत रुपमा नै पुगेर समाधानका लागि पहल गरेको एउटा सरकार प्रमुखमाथि हातपात गर्नेलाई कारवाही गर्नुपर्ने जसपा महानगर कमिटिको माग छ ।
पानी निकासको विषयलाई अहिले राजनीतिक रंग दिन खोजिएको भन्दै आवश्यक परे प्रतिकार गर्न जनता समाजवादी पार्टी तयार रहेको भन्दै विज्ञप्तिमार्फत चेतावनी पनि दिइएको छ ।
त्यस्तै नेकपा एमाले वीरगन्ज महानगर कमिटिले पनि अलौ घटनामा आफ्नो वडा सदस्यमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गरेको छ । नेकपा एमाले वीरगन्ज महानगरका सचिव सुन्दर प्रसाद कुर्मीले विज्ञप्ति जारी गर्दै दोषी माथि कारवाहीको माग गरेको हो ।