वीरगन्ज । जिल्ला प्रहरी कार्यालय बाराले हतियार देखाएर पैसा लुट्ने चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, बिहार राज्यको पश्चिम चम्पारण जिल्ला, थाना बेताही ग्राम पञ्चायत रानी पोखरी, वडा नं. ४३ रानी पोखरी टोल बस्ने बर्ष ५९ को सुरेश प्रसाद बानियाँ, सोही ठेगानाको वडा नं. ४४ रानी पोखरी टोल बस्ने बर्ष ४५ को शर्मा मुखिया, बर्ष ३५ को शैलेश तिवारी र मुज्जफरपुर जिल्ला ग्राम पञ्चायत बनजरिया, थाना सकरा बस्ने बर्ष ३४ को रबि दास रहेका छन् ।
उनीहरुले असोज १ गते मध्यान्ह सवा १२ बजेको समयमा बाराको कलैया उपमहानगरपालिका वडा नं.–१ स्थित प्रभु बैक अगाडीबाट कलैया–१३ बलिरामपुर बस्ने एक जना जेष्ठ नागरिकको ५० हजार रुपैंया लुटेको बारा प्रहरीले जनाएको छ ।
प्रभु बैकबाट ५० हजार रुपैंया रकम निकालेर घरतर्फ जाने क्रममा भारतीय नम्बर प्लेट बिआर २२ बीजे ३१६४ नम्बरको मोटरसाईकलमा आएका उनीहरुले ज्येष्ठ नागरिकलाई बाटोमा घेरा हालेर चक्कु देखाई धम्की दिएर रकम लुटेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।
२ जना मोटरसाईकलमा आएका र अन्य २ जना गरी ४ जनाले ज्येष्ठ नागरिकलाई पच्छ्याई बैंकबाट पैसा निकालेर बाटोमा हिड्दै गर्दा एक्कासी हाली चक्कु देखाएर धम्क्याई रकम लुटेर फरार भएका थिए ।
लुटेराहरूको खोजतलास भईरहेको अवस्थामा सोही स्थानमा ती ब्यक्तिहरु देखा परेको र अन्य मानिसहरूलाई समेत लुटपाट गर्ने योजना बनाईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराको विशेष प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रवक्ता प्रहरी नायव उपरीक्षक सापकोटाले बताए । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।