वीरगन्ज । बाराको प्रसौनीमा नयाँ कदम नेपाल संस्थाको दोस्रो साधारणसभा तथा वडादशैं, तिहार र छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रसौनी गाउँपालिका वडा नम्बर ३ स्थित मधेस सेवा आश्रममा संस्थाको साधारणसभा एवं दशैं, दीपावली र छठ पर्वको शुभकामना कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष रञ्जित पाण्डेको अध्यक्षतामा भएको साधारणसभाको नेकपा (माओवादी केन्द्र) प्रसौनी गाउँपालिकाका अध्यक्ष विजय यादवले पानसमा बत्ति बालेर उदघाटन गरेका थिए । कार्यक्रममा बोल्दै उनले सामाजिक संस्थाहरुले समाजमा रहेका विकृति, विसंगती र भ्रष्टाचार विरुद्ध आवाज उठाउनुपर्ने बताए ।
उनले सर्वसाधारण जनतालाई सचेत गराउने, शिक्षित र जागरुक बनाउने काम संघ संस्थाको रहेकोले स्थानीय तहमा अझै संघ संस्थाहरुसँग विभेद भईरहेको बताए । उनले किमसन नदिई कुनैपनि काम नगर्ने परिपाटीको विकास भएको भन्दै यसलाई चिर्नका लागि संघ संस्थाहरु लाग्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रसौनी गाउँपालिका उपाध्यक्ष मोजाहिर अन्सारी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज निरज पिठाकोटे, इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक सुरेशराज भट्ट, कवियत्री प्रिया मिश्र, स्थानीय प्रभु प्रसाद पटेल, नुरुल होदा अन्सारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाकी सचिव अनुराधा अधिकारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत संस्थाकी सदस्य कृष्णा कुमारी अधिकारीले गरेकी थिईन् । संस्थाकी उपाध्यक्ष मनिषा दुवे, अमृता चौधरी र सदस्य अदिति गुप्ताले अतिथिहरुलाई खादा र टिकाले सम्मान गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष रञ्जित पाण्डेले संस्थाले गरेका गतिविधि र प्रगतिको बारेमा जानकारी दिदै सामाजिक विभेद, शिक्षा, स्वास्थ्य तथा वातावरण संरक्षण लगायत समाजमा भएका विभिन्न खाले हिंसाको विरुद्धमा पनि काम गरिरहेको बताए ।