वीरगन्ज । वीरगन्ज उद्योग वाणिज्य संघले दशैंको अवसरमा सस्तो बजार र दशैं, दिपावली, तथा छठपर्वको शुभकामना आदान प्रदानको आयोजना गरेको छ । संघले हरेक बर्ष जस्तै यसबर्ष पनि टिवडेवाल धर्मशालामा सस्तो बजार लगाएको छ ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालको अध्यक्षतामा भएको सस्तो बजारको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले उदघाटन गरेका थिए । सस्तो बजारमा नुन, खाद्यान्न लगायत स्थानीय उत्पादनहरु पनि राखिएको छ ।
व्यापारमा आएको मन्दी र महंगाईले सस्तो बजारमा उपभोग्य वस्तुहरु खासै राखिएको छैन । खासगरी चाडवाडमा खपत हुने दाल, चामल, तेल, चिनी लगायतका उपभोग्य वस्तुहरु वीरगन्जमा महंगो पर्ने र सीमापारी रक्सोलमा सस्तोमा पाउने भएपछि उपभोत्ताहरु रक्सोल नै जाने गरेका छन् । यसले नेपालको बजारलाई भने प्रभाव परेको छ ।
आर्थिक मन्दी र महंगाईले वीरगन्जका व्यापारीहरुले महंगोमा खरिद गरेर बिक्री गर्दा नाफा नहुने र अधिकांश उपभोत्ताहरु पनि सीमापारी खरिद गर्न जाने भएकोले सस्तो बजारमा दैनिक उपभोग्य वस्तुहरुको कमै स्टल लगाईएको छ । बिहान सस्तो बजार उदघाटन गरेको वीरगन्ज उद्योग वाणिज्य संघले दिउँसो शुभकामना आदान प्रदान र चियापानको आयोजना गरेको छ ।
संघको सभाहलमा आयोजना गरिएको कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल, संविधानसभा सदस्य रामचन्द्र साह तेली, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा.सुवोध गुप्ता, महासंघका मधेस प्रदेश अध्यक्ष अशोक टेमानी, पूर्व अध्यक्ष गणेश लाठ, वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु अशोक वैद,
प्रदीप केडिया, ओमप्रकाश सिकारिया, वर्तमान बरिष्ठ उपाध्यक्ष हरि गौतम माधव राजपाल, महासचिव आशिष लाठ, सचिव प्रेमचन्द गोयल, कोषाध्यक्ष शिवजी कलवार, पदाधिकारी लगायत कार्यसमिति सदस्यहरु, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछाने,
मधेस प्रदेश महासचिव श्याम बञ्जारा, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि सञ्चारकर्मीहरु र समाजसेवीहरुको समेत उपस्थिति रहेको थियो ।