वीरगन्ज । चाडपर्वमा गरिने अनुगमनको नाममा त्रसित बनाएको व्यावसायीले गुनासो गरेका छन् । बाराको प्रसौनी गाउँपालिकामा आयोजना गरिएको प्रसौनी उद्योग वाणिज्य संघको दोश्रो साधारणसभामा व्यावसायीहरुले आर्थिक मन्दीले संकटमा रहेको उद्योगी व्यावसायीहरुलाई अहिले चाडपर्वको बेलामा अनुगमनका नाममा त्रसित बनाएको बताएका हुन् ।
उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले आर्थिक मन्दीले उद्योगहरु बन्द हुने अवस्था रहेको व्यापारमा पनि गिरावट आएको समयमा चाडवाडको समयमा केही व्यावसाय वृद्धि होला भन्ने व्यावसायीहरुले आशा गरेको तर, राज्यले अनुगमनको नाममा आतंक मच्चाएको बताए ।
खुला सीमाका कारण नेपाली उद्योगी व्यावसायीहरुको व्यापार चाडवाडमा छिमेकी भारतको सीमावर्ती बजारहरुले प्रभावित हुने गरेको बताउदै उनले नेपालतर्फ भने प्रहरी र प्रशासनले पक्राउ गरेर भन्सार र राजस्व अनुसन्धानमा बुझाउने गर्दा थप मारमा पर्ने गरेको बताए ।
जीतपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले तीन तहको सरकारले निजीक्षेत्रसँग सहकार्य गर्ने र अनुगमनमा पनि निजीक्षेत्रलाई विश्वासमा लिनुपर्ने बताए । उनले निजीक्षेत्रलाई संरक्षण गर्न सके मात्रै राज्यलेपनि कर उठाउन सक्ने भन्दै निजीक्षेत्रलाई आतंकित बनाएर मात्रै अर्थतन्त्र बलियो नहुने बताए ।
प्रसौनी उद्योग वाणिज्य संघका उपाध्यक्ष युवारज सुवेदीले व्यापार व्यावसाय गर्नलाई निजीक्षेत्रलाई राज्यले वातावरण बनाईदिनुपर्ने बताए । उनले निजीक्षेत्रको छाता संगठनको रुपमा प्रसौनी उद्योग वाणिज्य संघको स्थापना भएको र प्रसौनी क्षेत्रमा उद्योग स्थापनाको आकर्षण बन्न थालेकोले यसलाई स्थानीय, प्रदेश र संघ तीन तहकै सरकारले सहजीकरण गर्नुपर्ने बताए ।
कोल्हवी उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद साह कलवारले तीन तहकै सरकारले उद्योगी व्यावसायीहरुलाई गलत दृष्टिले हेर्ने गरेको आरोप लगाए । उनले राजस्व छलि गर्ने, कर छलि गर्ने व्यावसायी र फर्मलाई कारवाहीमा कुनै विरोध र अवरोध नभएपनि राज्यले व्यावसायीलाई धम्क्याएर मनलाग्दी जरिवाना गराउने प्रवृत्तिले उद्योगी व्यावसायीहरु निराश भएको बताए ।
प्रसौनी उद्योग वाणिज्य संघका अध्यक्ष तुलसी प्रसाद गुप्ताको अध्यक्षतामा भएको साधारणसभामा प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जयसवालले उद्योग व्यावसायलाई आफ्नो पालिकाबाट हुने सबैखालको सहयोग र सहजीकरण गर्न तयार रहेको बताए ।
अहिले सबैभन्दा बेरोजगारीको समस्या धेरै रहेकोले उद्योग व्यावसायको विकासले रोजगारीको सृजना गर्ने र स्थानीय युवाहरुले रोजगारी पाउनेमा आफू विश्वस्त रहेको बताए । जयसवालले संघको कार्यालय भवन बनाउन जग्गा प्रदान गर्ने प्रतिबद्धता गरेका थिए । प्रसौनी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष वृजकिशोर कुश्वाहाले पनि आफ्नो वडामा रहेको पार्क सहितको संघको भवनका लागि जग्गा उपलब्ध गराउन सिफारिस गर्ने बताए ।
बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले व्यावसायीले सधैं आफ्नो ठाउँबाट मात्रै हेर्नुपनि उचित नहुने भन्दै उपभोग्य वस्तुमा सबै उपभोत्ताको अधिकार रहने हुँदा उपभोत्ताको अधिकारको संरक्षणसँगै उद्योग व्यावसायमा समेत सहजीकरण गर्न राज्य प्रशासन तयार रहेको बताए ।
उनले कानूनको परिपालना गर्दै निजीक्षेत्रलाई सहज व्यावसाय गर्ने वातावरण बनाउन र उपभोत्ता अधिकारको संरक्षण नै राज्यको प्राथामिकता रहेको बताए । स्थानीय उद्योग प्रवर्द्र्धनमा सहयोग पुर्याएको भन्दै चार दशक भन्दा लामो व्यावसाय गरेर प्रसौनीमै बसेका वरिष्ठ उद्यमी सत्यनारायणप्रसाद कलवारलाई संघका अध्यक्ष गुप्ताले सम्मान गरेका थिए ।
त्यस्तै संघले एसईई परीक्षामा उत्कृष्ट स्थान ल्याउने छात्र नितेश महतो र छात्रा चाँदनी कुमारीलाई पुरस्कृत गरेका गरिएको थियो । उद्घाटन समारोहमा संघका सल्लाहकार मन्त्रीलाल गुप्ताले संघको स्थापनाको पृष्ठभूमिको बारेमा प्रकाश पार्दै प्रसौनीको छवि अब उद्योगमैत्री स्थानमा रुपमा परिणत हुँदै गएको बताए ।
संघका महासचिव केदार गौतमले सहजीकरण गरेको कार्यक्रममा सल्लाहकार भोला गुप्ता, वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, गाउँपालिकाका जनप्रतिनिधिहरु, बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्का, सशस्त्र प्रहरी ४० नम्बर रिजर्भ फोर्स पिलुवाका सशस्त्र प्रहरी उपरीक्षक मोहन क्षेत्री, स्थानीय समाजसेवी, सञ्चारकर्मीलगायतको सहभागिता थियो । सो कार्यक्रममा स्थानीय विद्यालयका बालबालिकाले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।