मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय ९इन्द्रसरोवर ताल० को ढोका बन्द गरिएको छ ।
जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँधको सुरक्षाका लागि शनिबार बिहान आयोजनाको दुई ढोका खोलेर पानी बाहिर निकालिएको थियो ।
कुलेखानी प्रथम जलविद्युत् आयोजनााका प्रमुख तारादत्त भट्टका अनुसार बाँध खोलेर जलाशयको पानीलाई निकाशा दिएपछि जलसतह केही घटेकाले आज ढोका बन्द गरिएको छ ।
कुलेखानीको जलाशयमा कुल एक हजार पाँच सय ३० मिलिमिटर पानी भण्डारण गर्ने क्षमता भएपनि शनिबार एक हजार पाँच सय ३१ मिलिमिटर पानी भरिएर खतराको सङ्केत देखिएपछि दुई ढोका खोलिएको थियो ।
शनिबार साँझदेखि वर्षा रोकिएको भन्दै ढोका खोलेर पानी बाहिर निकालिएकाले जलाशयमा जलसतह घटेको प्रमुख भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले जल विद्युत् उत्पादन पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको प्रमुख भट्टले बताए ।
हेटौँडा–काठमाडौँ र हेटौँडा–सिन्धुली जोड्ने सडकमा आईतबार बिहानैदेखि पहिरो पन्छाउने काम सुरु भएको छ । वर्षा रोकिएपछि पहिरोका कारण अवरुद्ध भएको सडक पन्छाउने काम शुरु भएको हो ।
सडक विभाग र सुरक्षा निकायले हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ र भिमफेदी–दक्षिणकाली खण्डमा बिहानैदेखि पहिरो पन्छाउने काम गरिरहेका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालले जानकारी दिए ।
त्यस्तै मदनभण्डारी लोकमार्गअन्तर्गत विभिन्न स्थानमा खसेको पहिरो पन्छाएर आवागमन नियमित सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए ।