वीरगन्ज । तीदिनदेखि लगातार पानी परेर जनजीवन प्रभावित भएको वीरगन्जको मौसममा आज सुधार भएको छ । शनिबार बिहानसम्म मुसलधारे पानी परेर वीरगन्ज लगायतका ग्रामीण क्षेत्रहरुमा जलमग्न भएको मौसम आईतबारदेखि भने सुधार भएको छ ।
शनिबार बिहानदेखि रोकिएको बर्षा राति केहीबेर मात्रै परेको थियो । आईतबार बिहान भने आकाश खुलेर घाम लागेको छ । घाम लागेपनि विभिन्न स्थानमा जमेको पानी भने अझै सुक्न बाँकी रहेको छ । सिर्सिया नदिको पानी नगरक्षेत्रमा पस्दा वीरगन्जको नगरक्षेत्र समेत डुबानमा परेको छ । जलमग्न स्थानहरुमा पानी विस्तारै घट्दै गएको छ ।
महानगरको केही क्षेत्रमा भने डुबान अझै कायमै रहेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुर क्षेत्रको वस्ती डुमानमा परेको छ । वस्ती डुबानमा परेपनि जनप्रतिनिधिहरुले भने वेवस्ता गरेको पीडितहरुले गुनासो गरेका छन् ।
वडा नम्बर २१ परवानीपुरको कृषि अनुसन्धान केन्द्र जाने बाटो क्षेत्रको वस्ती डुबानमा परेको हो । वस्ती नै डुबानमा परेपनि वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरु अहिलेसम्म हेर्न सम्म नगएको गुनासो डुबान पीडितहरुको छ ।