वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले आज जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । पार्टीका सभापति रबि लामिछानेमाथि प्रहरीले धरपकड गर्ने र राजनीतिक प्रतिशोध साध्ने उद्देश्यले सत्ता र शक्तिको दुरुपयोग गर्न खोजिएको भन्दै रास्वपा पर्साले सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
सरकारले राजनीतिक प्रतिशोधको भावनाले पार्टीका सभापति लामिछानेमाथि धरपकड र थुनछेक गर्ने परिस्थिति सृजना गर्न खोजिएको पार्टीले अनुभूति गरेको जनाएको छ ।
सरकारलाई बुझाएको ज्ञापनपत्रमा सहकारी रकम हिनामिना सम्बन्धि छानबिनको लागि गठित सहकारी संसदिय छानबिन समितिको प्रतिवेदनमा स्पष्ट रुपमा रबि लामिछानेको सहकारी रकम ठगी तथा हिनामिनामा कुनै पनि किसिमको संलग्नता नरहेको उल्लेख गरेको, उनले ब्यक्तिगत रूपमा कुनै पनि सहकारीबाट रकम ऋण नलिएको स्पष्ट हुँदाहुदैपनि उनीमाथि सरकारले सत्ता र शक्तिको दुरुपयोग गरेर धरपकड गर्न खोजेको उल्लेख गरेको छ ।
रबि लामिछने कुनै पनि सहकारीको सदस्य एबम प्रबन्धक समेत नरहेको र उनले कुनै पनि सहकारीमा ऋण लिनका निमित्त फारम तथा निबेदन समेत नदिएको कुरा समेत स्पष्ट रुपमा उल्लेख भएपनि नितान्त राजनीतिक प्रतिसोधको भावनाले रबि लामिछानेमाथि गर्न खोजिएको व्यवहारले अवस्था असहज हुनसक्नेतर्फ पनि ज्ञापनपत्रमा सचेत गराएको छ ।
सत्ता र शक्तिको दुरुपयोग गरि नेपालको विधमान ऐन कानुन विपरित गएर राजनीतिक प्रतिशोध साध्नका लागि गरिएको धरकपडले दुर्भाग्यपूर्ण अवस्था आएमा यसबाट उत्पन्न हुने सम्पुर्ण असहज परिस्थितिको जिम्मेवार नेपाल सरकार ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाएको रास्वपा पर्साका सभापति हरि पन्तले बताए ।
पन्तको नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाउन गएको टोलीमा रास्वपाका केन्द्रीय सदस्य डाक्टर नन्दन यादव, प्रदेश सदस्य सुदीश प्रजापति, पूर्व जिल्ला संयोजक दिलिप कुर्मी लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।