वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ५८ लाख भन्दा बढीको सामान लोड रहेको माल वाहक ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं.२५ स्थित आईसीपी चोकमा बा ३ ख ९८४५ नम्बरको मालबाहक ट्रकलाई रोकेर चेकजाँच गर्दा वील विजक भन्दा बढीका कस्मेटिकलगायतका सामानहरु फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक भारतीले जानकारी दिए ।
वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको मालबाहक ट्रक नियन्त्रणमा बिलविजक भन्दा बढीको सामान लोड रहेको विशेष सूचनाको आधारमा सोमबार बेलुकी ८ः१५ बजेको समयमा जिल्ला पर्साबाट खटिएको प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएर खानतलासी लिँदा ५८ लाख ८६ हजार ३० रुपैंया बराबरका कस्मेटिक लगायतका बस्तुहरू फेला परेको प्रहरी नायव उपरीक्षक भारतीले बताए ।
प्रहरीले नियन्त्रणमा लिएको सामान सहित ट्रक थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरले जनाएको छ । यसअघि आईतबार पनि पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१४ स्थित गण्डक चोकबाट बिलविजक भन्दा बढी सामान लोड गरेको ट्रक नियन्त्रणमा लिएको थियो ।
ना.३ ख ८०४२ नम्बरको मालबाहक ट्रकमा विल विजक भन्दा बढीका मसाला लगायतका सामानहरू लोड गरी वीरगञ्जबाट चितवनतर्फ लैजाँदै गरेको विशेष सूचनाको आधारमा गण्डकमा रोकेर जाँच गर्दा ३३ लाख ७७ हजार ९ सय ४० रुपैंया बराबरको सामान फेला पारेको प्रहरीले जनाएको छ ।
सामान सहित नियन्त्रणमा लिएको ट्रकलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।