वीरगन्ज । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको एन्जल बसका चालकको छोराछोरीको अध्ययनको जिम्मेवारी वीरगन्ज महानगरपालिकाले लिने भएको छ ।
सिमलतालको पहिरोमा परि त्रिशुली नदीमा खसेको बसका चालक वीरगंज १६ नगवाका जवाहिर महतोको छोराछोरीको अध्ययनको जिम्मा महानगरपालिकाले लिने भएको हो । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले एञ्जल बस चालकका परिवार र उनीसँगै रहेका सोही स्थानका यात्रुका परिवारसँग बुधबार भेटघाट गरेका थिए ।
२ छोरा, १ छोरी र श्रीमती रहेका जवाहिरले रात्री बस चलाएर जिविकोपार्जन गर्दै आएका चालक जवाहिर नै नरहेपछि परिवार विचल्लीमा परेका छन् । चालकका परिवारसँग भेट गर्दै मेयर सिंहले बालबालिकाको अध्ययनको सम्पूर्ण जिम्मेवारी महानगरपालिकाले लिने बताए । परिवारको जिविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगर तयार रहेको बताए ।
चालक सहित उक्त बसमा वीरगन्ज महानगरका तीनै जना वीरगंज महानगरपालिका वडा नं. १६ का परेका छन् । उनीहरुको परिवारसँग मेयर सिंहले आज बिहान भेट गरेर सहानुभूति व्यक्त गरेका छन् । बारा जिल्ला स्थायी घर भई नगवामा बसोबास गर्दै आएका चन्देश्वर पंडितका २२ वर्षीय छोरा अरविन्द पडित र नगवाकै नयाँ वस्तीका हरेन्द्र पण्डितका परिवारलाई पनि मेयर भेटेका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषाका अनुसार सिमलताल बस दुर्घटनामा पर्साको सखुवा प्रसौनी वडा नम्बर २ का एउटै परिवारका ३ जना र वडा नम्बर ३ का एकजना गरी चारजना, बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीका ३ जना, वीरगन्ज महानगरपालिकाका ३ जना गरी ९ जना पर्सा जिल्लाका परेका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनले नाम, ठेगाना उल्लेख गरेर पठाए अनुसार पर्साबाट प्रहरीको समन्वयमा बेपत्ता भएकाहरुको परिवार र आफन्तलाई सम्पर्क गरी घटनास्थलमा सनाखतको लागि पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी भुषालले बताए ।