वीरगन्ज । असार २३ र २४ गते वीरगन्ज महानगरमा माछामासु र मदिरा बिक्री वितरण र ओसार पसारमा रोक लगाउने भएको छ ।
माईस्थान मन्दिरको १२ औं बार्षिकोत्सवको अवसरमा हुन लागेको गहवामाई रथयात्राको लागि वीरगन्ज वीरगन्ज महानगरक्षेत्र भित्र महानगरपालिकाले असार २३ र २४ गते मदिरा, माछामासु निषेध गरेको हो ।
त्यस्तै पशुपंक्षी काटमार गर्न र बिक्री वितरण गर्न समेत निषेध गरिएको छ । सार्वजनिक सूचना मार्फत दुईदिन पशुपंक्षीको बदर तथा मदिरा र माछामासु बिक्री वितरण र ओसार पसार निषेध गरिएको जनाएको छ ।
सूचनालाई अटेर गरेमा नियमानुसारको कारवाही हुने पनि जनाएको छ । असार २३ गते गहवामाई मन्दिरको रथयात्रा निकालिने तयारी गरिएको छ ।
रथयात्रामा सहभागी हुन महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले सबैलाई आह्वान गरेका छन् । असार २३ गते महानगर क्षेत्रभित्र पर्ने सबै शैक्षिक संस्था पनि बन्द गर्न अनुरोध गरेको छ ।