वीरगन्ज । आजदेखि तीन दिनसम्म मनसुन अझ सक्रिय भई देशभर व्यापक वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबारदेखि मनसुन अझ सक्रिय हुने भन्दै मौसम पूर्वानुमान महाशाखाले जोखिमका हिसाबले जिल्लाहरूलाई तीन भागमा विभाजन गरेको छ।
महाशाखाका अनुसार मधेसका ७ र बागमतीका ६ गरी १३ जिल्ला वर्षाको न्यून जोखिममा रहेपनि यस अवधिमा ‘अति भारी वर्षा’को सम्भावना गण्डकी प्रदेशका ८, लुम्बिनीका ९, कर्णालीका ६ र सुदूरपश्चिमका ७ गरी ३० जिल्ला उच्च जोखिममा रहेको जनाएको छ ।
मधेसका धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र सिराहा तथा बागमतीका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, नुवाकोट र धादिङलाई मौसम महाशाखाले न्यून जोखिममा राखेको छ ।
३ दिन हुने वर्षाका कारण गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्व र मुस्ताङ, लुम्बिनीका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुमपूर्व, कर्णालीका जाजरकोट, दैलेख, रुकुमपश्चिम, कालिकोट, जुम्ला र हुम्ला तथा सुदूरपश्चिमका डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा जोखिममा रहेका छन्।
यस्तै कोसी प्रदेशका १४, मधेसको १, बागमतीका ७, गण्डकीका ३, लुम्बिनीका ३, कर्णालीका ४ र सुदूरपश्चिमका २ गरी ३४ जिल्ला वर्षाको मध्यम जोखिममा रहेको महाशाखाले जनाएको छ ।
कोसीका ताप्लेजुङ, पाँचथर, तेह्रथुम, झापा, इलाम, धनकुटा, भोजपुर, सोलुखुम्बु, उदयपुर, संखुवासभा, मोरङ, सुनसरी, खोटाङ र ओखलढुंगा, मधेसको सप्तरी, बागमतीका रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, दोलखा र रसुवा,
गण्डकीका मनाङ, लमजुङ र गोरखा, लुम्बिनीका दाङ, बाँके र बर्दिया, कर्णालीका डोल्पा, मुगु, सुर्खेत र सल्यान र सुदूरपश्चिमका कैलाली र कञ्चनपुर वर्षाको मध्यम जोखिममा रहेको महाशाखाले जनाएको छ ।